
बैतडी–बैतडीमा निशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ । यही फागुन ११ देखि २७ गतेसम्म १० ओटै स्थानीय तहका विभिन्न स्वास्थ्यचौकीहरुमा शिविरको आयोजना गर्ने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले जानकारी दिए ।
सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालयले जिल्लाभरी शिविरको आयोजना गर्न लागेको हो । सन्तानको रहर पुगिसकेका दम्पतीहरुका लागि स्थायी बन्ध्याकरण र लामो समयसम्म काम गर्ने अस्थायी परिवार नियोजनका साधनहरु निशुल्क रुपमा राख्ने कार्यका लागि शिविरको आयोजना गरिन लागेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए ।
शिविरमा महिलाहरुको स्थायी बन्ध्याकरण मिनिल्याप र पुरुषहरुको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । यस्तै शिविरमा लागि ५ बर्षका लागि इम्पलान्ट र १० बर्षका लागि आइयुसीडी समेत राखिने भट्टले जानकारी दिए ।
अनुभवी चिकित्सकसहितको टोलीले शिविरमा सेवा दिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।
यही फागुन ११ गते सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने फागुन १३ गते पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै फागुन १५ गते पुर्चौंडी नगरपालिकाको कुवाकोट स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
फागुन १७ गते शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्र, फागुन १८ गते पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्यचौकी, फागुन २० गते मेलौली नगरपालिकाको सलेना स्वास्थ्यचौकी र फागुन २१ गते पाटन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा शिविरको आयोजना गरिने बताइएको छ ।
यस्तै फागुन २२ गते सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, फागनु २३ गते सुर्नया गाउँपालिकाको वासुलिङ्ग स्वास्थ्यचौकी, फागुन २४ गते दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकी, फागुन २५ गते दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी र फागुन २७ गते डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्थानीयस्तरमै परिवार नियोजनका सेवाहरु उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएकाले आ–आफ्नो पायक पर्ने स्थानमा गएर सेवा लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
मिनिल्याप गर्न चाहने महिलाहरुले शिविरमा आउँदा भोको पेट आउनुपर्ने र एकजना साथमा ल्याउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।