
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले घरधुरी सर्वेक्षण शुरु गरेको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण शुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
पालिकाका ८ ओटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत घरधुरी सर्वेक्षणको काम शुरु गरिएको उनले बताए । चैत महिनाभित्र घरधुरी सर्वेक्षण गरिसक्ने लक्ष्य रहेको उनले बताए ।
घरधुरी सर्वेक्षण अन्तर्गत जन्मेदेखि १५ महिना र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको सर्वेक्षण गरिनेछ । कुनै बालबालिकाहरुले खोप नपाएका भए उनीहरुलाई पूर्ण खोप निर्देशिका अनुसार खोपको दायरमा ल्याइने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
आगामी वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउँदै वैशाख महिनाभित्रै पालिकालाई पूर्ण सुनिश्चित पालिका घोषणा गर्ने लक्ष्य लिइएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
नेपाल सरकारले बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउन राष्ट्रिय खोप तालिका अनुसार १० प्रकारका खोप निशुल्क रुपमा दिने गरेको छ । उक्त खोपहरुबाट कुनै पनि बालबालिका वञ्चित नहोउन भनेर घरधुरी सर्वेक्षणको काम भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
पालिकाले सञ्चालन गरेका अभियान अन्तर्गत वडास्तरमा घरधुरी सर्वेक्षणको काम शुरु गरिएको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणाका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको उनले बताए ।