
बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकहरुसंग छलफल गरेको छ ।
दशरथचन्द मावि सुन्दरखालीमा शुक्रबार आयोजना गरिएको छलफलमा नगरपालिकाभरीका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । दशरथचन्द नगरपालिकाभित्र ५२ ओटा सामुदायिक र १० ओटा संस्थागत विद्यालयहरु रहेका छन् ।
प्रधानाध्यापकहरु सहभागी भएको छलफल कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइले सहजीकरण गरेको थियो । उक्त कार्यक्रममा विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका बिषयमा छलफल भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । उनले भने,‘हामीले शैक्षिक क्षेत्र सुधारका लागि प्रधानाध्यापकहरुसंग अन्तरक्रियात्मक छलफल गरेका छौं । यसले केही सुधार आउने हाम्रो अपेक्षा रहेको छ ।’
छलफलमा पालिकाले यो बर्षदेखि सञ्चालन थालेको कक्षा ५ को पालिकास्तरीय परीक्षा र कक्षा ८ को परीक्षाका बिषयमा चर्चा भएको उनले बताए ।
यस्तै आगामी शैक्षिक सत्रदेखि शैक्षिक क्यालेण्डर लागू गर्ने बिषयमा समेत छलफल भएको शिक्षा शाखा प्रमुख भट्टले बताए । पालिकाभरीका सबै विद्यालयहरुले शैक्षिक क्रियाकलापहरुमा एकरुपता ल्याउन शैक्षिक क्यालेण्डर लागू गर्ने तयारी भएको हो ।
छलफल कार्यक्रममा सहभागी हुँदै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले नगर क्षेत्रका सामुदायिक विद्यालयहरुमा सुधार ल्याउन प्रधानाध्यापकहरुलाई आग्रह गरे । विद्यालयमा देखिएका समस्या समाधानका लागि नगर सरकार तयार रहेको बताउँदै उनले शैक्षिक गुणस्तर सुधारमा दृढ भएर लाग्न आग्रह गरेका छन् ।