
बैतडी–बैतडीको पाटन नगरपालिका–८ स्थित आरुबाटा भीरमा १२ दिन अगाडि फेला परेको बेवारिसे शवको पहिचान अझै गर्न सकिएको छैन । शवको हुलिया सार्वजनिक गरिएको भएपनि यसको सनाखत नभएपछि शव व्यवस्थापन निर्देशिका अनुसार पाटन नगरपालिकाले शव व्यवस्थापन गरेको जानकारी जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको छ ।
फागुन १ गते विद्यार्थीहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए र प्रहरी टोलीले शवलाई भीरबाट निकालेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरेको थियो । शवको माथिल्लो शरीरमा निलो ट्रयाक सुट र खरानी रंगको हाइनेक, जबकि तल्लो शरीरमा कालो रंगको पाइन्ट लगाइएको छ ।
हालसम्म कुनै व्यक्तिले शवको पहिचान गर्न नआएपछि, नगरपालिकाले शव व्यवस्थापनको जिम्मेवारी लिई शवको उचित व्यवस्थापन प्रक्रिया सम्पन्न गरेको जानकारी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले दिएका छन् ।