
क्यालिफोर्नियामा आधारित एलेफ एअरोनटिक्स कम्पनीले विश्वकै पहिलो उड्ने कारको नमूना परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। बीबीसीका अनुसार कम्पनीले सार्वजनिक गरेको भिडियोमा कार आकाशमा उडिरहेको देख्न सकिन्छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत जिम डुखोभ्नीले आगामी एक वर्षभित्र उपभोक्तालाई उड्ने कार उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिएका छन्। हालसम्म उक्त कारका लागि ३ हजारभन्दा बढी अर्डर प्राप्त भइसकेको कम्पनीले जनाएको छ। उपभोक्ताले यो विद्युतीय कार ३ लाख अमेरिकी डलरमा खरिद गर्न सक्नेछन्।
दुई जना यात्रु बोक्न सक्ने क्षमतायुक्त यस कारले एक पटकको उडानमा करिब ११० माइल यात्रा गर्न सक्छ भने सडकमा २०० माइलसम्म गुड्न सक्छ। अत्याधुनिक प्रविधियुक्त कारमा अटोपाइलट मोडसमेत रहेको छ। हावामा सहज रूपमा उडान भर्नका लागि कारमा आठवटा रोटर जडान गरिएको छ।
सडकमा अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने यो कार आवश्यक परेको अवस्थामा तुरुन्तै आकाशमा उड्न सक्छ। प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वासका साथ कम्पनीले उड्ने कारको व्यावसायिक उत्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ।