
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर मावि चौथालीको ५४ औं बार्षिकोत्सव सोमबार विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर कुँवरको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिका–४ का वडा अध्यक्ष प्रताप महरा, वडा नं ६ का अध्यक्ष मदनराज अवस्थी र वडा नं ७ का अध्यक्ष भक्तबहादुर कुँवर बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सवको समारोहमा विद्यालयका प्रधानाध्यापक नन्दराम अवस्थीले ६२ लाख ३२ हजार ७४४ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरे । साथै आगामी शैक्षिक सत्रका लागि ९० लाख १५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट पेश गरेका छन् ।
बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक अम्मरबहादुर कुँवरले बताए ।
कक्षा १० सम्मको पढाइ हुने भुवनेश्वर माविमा १ सय ५८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
बार्षिकोत्सव समारोहमा बोल्दै सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले शिक्षा क्षेत्रको विकास र सुधारका लागि पालिकाले सक्दो पहल गरिरहेको बताए ।