Sagun Khabar
जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

दशरथचन्द नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले जानकारी दिए । 

Atrya hospital

सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख पुष्करराज जोशीले वडा नं ९ का अध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का अध्यक्ष जयदत्त पन्तलाई संयुक्त रुपमा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । 

यसअघि देहीमाण्डौं स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको उक्त एम्बुलेन्स मर्मत गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो । देहीमाण्डौंमा नयाँ एम्बुलेन्स आएपछि जोशीबुङ्गा स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।

जोशीबुङ्गा स्वास्थ्यचौकीमा एम्बुलेन्स भित्रिएसंगै वडा नं ९ र ११ आकस्मिक बिरामी तथा गर्भवती र सुत्केरी आमाहरुलाई सुविधासम्पन्न अस्पतालमा पुर्याउन सहज हुने विश्वास गरिएको छ । 

दशरथचन्द नगरपालिकाले गएको तीन बर्षदेखि गर्भवती तथा सुत्केरी आमाहरुलाई अन्यत्र अस्पताल लैजानुपरेमा निशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको जोशीले बताए । 

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले नगरबासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन नगरपालिकाले काम गरिरहेको बताए । 

जोशीबुङ्गा स्वास्थ्यचौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि यो क्षेत्रका नागरिकलाई सहज हुने वडा नं ९ का अध्यक्ष मोहनदेव जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update