Sagun Khabar
महाशिवरात्रीको अवसरमा पाताल भुवनेश्वर धाममा धार्मिक प्रवचन हुने 

बैतडी –बैतडीको प्रसिद्ध धार्मिकस्थल पाताल भुवनेश्वर धाममा महाशिवरात्रीको अवसरमा भोलि धार्मिक प्रवचन हुने भएको छ । गएको असोजदेखि पाताल भुवनेश्वर धाममा तपस्यामा रहेकी गुरुमाले धार्मिक प्रवचन दिने कार्यक्रम तय भएको सुर्नया गाउँपालिका–२ का अध्यक्ष गणेशबहादुर बिष्टले बताए । 

भोलि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पाताल भुवनेश्वर धामको गेट नजिकै तयार गरिएको मञ्चमा धार्मिक प्रवचनको कार्यक्रम रहेको उनले बताए । धार्मिक प्रवचनलाई व्यवस्थित बनाउन पाताल भुवनेश्वर धार्मिक सेवा समितिले काम गरिरहेको अध्यक्ष बिष्टले बताए । 

अस्थाको केन्द्रको रुपमा रहेको पाताल भुवनेश्वर धाममा महाशिवरात्रीको अवसरमा हरेक बर्ष ठूलो मेला लाग्ने गर्दछ । दर्शनार्थीहरुलाई धार्मिक प्रवचनमा सहभागी भइ पुण्यलाभ प्राप्तिका लागि आग्रह गरिएको पाताल भुवनेश्वर धार्मिक सेवा समितिका अध्यक्ष राजेन्द्र बिष्टले बताए । 

Atrya hospital

चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पाताल भुवनेश्वर धाममा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । सडकबाट झण्डै आधाकिलोमिटरको दुरीमा रहेको पातालभुवनेश्वरधाममा पुग्न पदमार्ग निर्माण गरिएको छ भने पछिल्लो समयमा मन्दिर निर्माणको काम समेत अघि बढाइएको छ । 

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसार पातालभुवनेश्वरगुफा दक्षिण एसीयाकै लामो गुफा हुन सक्ने अनुमान गरेको थियो । ‘गुफा बिशेषज्ञहरुको टोली ३५ सय मिटर सम्म पुगेको थियो । त्यो भन्दा अगाडि उनीहरुले पनि जान सकेनन् ।’पत्रकार लक्ष्मीदत्त पाण्डेयले भने, ‘गुफाको बारेमा मात्रै प्रचारप्रसार गर्न सकियो भने धेरै पर्यटक भित्र्याउन सकिन्छ । पातालभुवनेश्वरधाममा पुग्ने सडक मात्रै निर्माण गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

पातालभुवनेश्वरधाम अग्लो डाँडोमा अवस्थित भएपनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ । पछिल्लो समयमा संरक्षणको अभावमा ताल सुक्ने खतरा बढ्दै गएको स्थानीयबासी बताउँछन् । पाताल भुवनेश्वर धामको बारेमा स्कन्द पुराणको मानसखण्डमा  समेत उल्लेख गरिएको पाइन्छ । भगवान विष्णुले राजा बलिलाई सोही गुफाबाट पाताल पठाएको र सोही बेलादेखि पातालभुवनेश्वर नाम रहेको बताईएको छ । यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पातालभुवनेश्वर शिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ । 

पातालभुवनेश्वरधाममा चारओटा गुफा रहेका छन् । चारैतिर जंगल र बीचमा शिवमन्दिर सहितको तालले शोभा बढाएको छ । 

पाताल भुवनेश्वर धामको बारेमा स्कन्द पूराणमा समेत उल्लेख गरिएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘पाताल भुवनेश्वर धामको बारेमा पूराणहरुमा समेत वर्णन गरिएको छ । यसको ठूलो महिमा रही आएको छ ।’

मनोकामना पूर्ण हुने जनविश्वास 

पातालभुवनेश्वरधाममा हरेक शिवरात्रीको दिन ठूलो मेला लाग्ने गर्दछ । सो मेलामा जिल्लाका विभिन्न ठाउँबाट दर्शन गर्न आउनेको ठूलो भीड लाग्ने गर्दछ । पातालभुवनेश्वरधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको पातालु भुवनेश्वर धार्मिक सेवा समितिका सल्लाहकार सिद्धराज भट्टले बताए । उनले भने,‘पातालभुवनेश्वरधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । शुद्ध मनले दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ ।’
यो बर्षको मेलामा धार्मिक प्रवचनको आयोजना गरिएको र यसले भक्तजनहरुलाई थप सहज हुने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update