
सुरेश अवस्थी, बैतडी–पौराणिक महत्त्व, प्राकृतिक सौन्दर्य, र धार्मिक आस्थाको संगम पाताल भुवनेश्वर धाम बैतडी जिल्लाको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यो धाम प्राकृतिक रूपमा आकर्षक मात्र नभई ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा पनि परिचित छ । यहाँ रहेको रहस्यमयी गुफा र कहिल्यै नसुक्ने तालले यस क्षेत्रको विशेषता झल्काउँछ । हालसम्म गुफाको सम्पूर्ण गहिराइ र लम्बाइ पत्ता नलाग्नुले यसलाई झन् रोमाञ्चक बनाएको छ ।
धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने पाताल भुवनेश्वर धामको उल्लेख प्राचीन ग्रन्थ स्कन्द पुराणको मानसखण्डमा गरिएको पाइन्छ । संस्कृतिका जानकार घनश्याम लेखकका अनुसार भगवान विष्णुले राजा बलिलाई यहीँबाट पाताल लोकमा पठाएको जनविश्वास छ । अर्को किंवदन्ती अनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्दा यहीँ उनको पैतला खसेको हुनाले यो स्थान शिवशक्तिको रूपमा प्रतिष्ठित भएको हो ।
पाताल भुवनेश्वर धाममा चारवटा गुफाहरू रहेका छन् । मुख्य गुफा भित्र प्रवेश गर्दा विभिन्न आकृतिहरू देख्न सकिन्छ, जसमा सर्प, भगवान शिव र पार्वतीका आकृतिहरू उल्लेखनीय छन् । गुफाभित्र दुई प्रकारका जलधारा बहने विश्वास छ — एउटा दूधजस्तो सेतो र अर्को स्वच्छ पानी । स्थानीय संस्कृतिका जानकार घनश्याम लेखकका अनुसार उनले गुफाभित्र स्वयम् अध्ययन गर्दा थप तीनवटा द्वार वा गुफा रहेको पत्ता लगाएका छन् । शास्त्रीय विश्वास अनुसार ती तीनवटा गुफाहरूबाट क्रमशः रामेश्वरम, गोदावरी र सर्यु अर्थात् सुर्नया नदीसम्म पुग्न सकिन्छ ।
मानसखण्ड पुराणमा पाताल भुवनेश्वरको वर्णन सबैभन्दा बढी गरिएको पाइन्छ, जहाँ करिब १०० भन्दा बढी श्लोकहरू यस धामको महिमा बयान गर्छन् । विशेषगरी पाताल भुवनेश्वर माहात्म्यमा कुन तिथि, कुन बार र कुन नक्षत्रमा कसरी पूजा गर्ने भन्ने विषय उल्लेख गरिएको छ । साथै, यस धामको दर्शन गरेमा काली, उग्रतारा र त्रिपुराको दर्शन गरेजस्तै फल प्राप्त हुने र आकाशका लिङ्ग, पृथ्वीका लिङ्ग र पातालका लिङ्गको दर्शन गरे बराबर पुण्य प्राप्त हुने कुरा पुराणमा उल्लेख गरिएको छ ।
गुफाको वास्तविक लम्बाइ र गहिराइ पत्ता लगाउने प्रयासहरू पटक–पटक भए पनि अहिलेसम्म पूर्ण रूपमा सफल हुन सकेको छैन । २०७२ सालमा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेनको नेतृत्वमा आएको टोलीले गुफाको ८०० मिटर दूरीसम्म अध्ययन गरेको थियो । २०८० सालमा बेलायती गुफा विशेषज्ञ पिटर एलिसन र उनका बंगलादेशी सहयोगी आरिफ गोइयाको टोलीले करिब डेढ किलोमिटरसम्म अन्वेषण गरे पनि साँघुरोपन र भित्रको माटोका कारण अन्त्यसम्म पुग्न सकेन । यी अध्ययनहरूका आधारमा गुफा अझै लामो र गहिरो हुन सक्ने अनुमान गरिएको छ ।
गुफाको माथिल्लो भागमा रहेको प्राकृतिक ताल वर्षभरि पानीले भरिपूर्ण हुन्छ, जसले यस क्षेत्रलाई अझै आकर्षक बनाएको छ । खडेरीमा समेत तालको पानी नसुक्ने जनविश्वास छ । त्यस्तै, जंगलको बीचमा रहेको यस धामबाट रौलाकेदार, अपि हिमाल, र भारतका विभिन्न हिमशृंखला लगायतका मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ ।
पाताल भुवनेश्वर धाममा प्रत्येक वर्ष महाशिवरात्रि र रामनवमीको अवसरमा ठूलो मेला लाग्छ । यस मेलामा जिल्लाका विभिन्न ठाउँबाट भक्तजनहरू दर्शन गर्न आउँछन् । पाताल भुवनेश्वर धार्मिक सेवा समितिका सल्लाहकार सिद्धराज भट्टका अनुसार शुद्ध मनले धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । त्यस्तै, गुफाको आसपासमा रहेको शिव मन्दिरमा विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्यहरू नियमित रूपमा हुने गर्छन् ।
धार्मिक तथा प्राकृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण भए पनि पाताल भुवनेश्वर धाम हालसम्म पर्याप्त प्रचार–प्रसार र आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ । सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर कुँवरका अनुसार गाउँपालिकाले धामको संरक्षण र विकासका लागि निरन्तर प्रयास गरिरहेको छ र आगामी दिनहरूमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बैतडीका स्थानीयहरूले पनि धार्मिक पर्यटक आकर्षित गर्न प्रचारप्रसार बढाउनु आवश्यक रहेको र पर्यटकलाई आवश्यक सुविधा प्रदान गर्न सके मात्र धार्मिक पर्यटनले ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।
पाताल भुवनेश्वर धाम केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई पर्यटकीय सम्भावना बोकेको महत्त्वपूर्ण सम्पदा हो । यस क्षेत्रको प्रचार–प्रसार, पूर्वाधार विकास, र संरक्षणमा सरकारी तथा स्थानीय निकायहरूले थप ध्यान दिएमा यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ । यसले स्थानीय समुदायको आर्थिक स्तर उकास्न र नेपालको धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण योगदान दिनेछ ।