
बैतडी–सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान गर्न बैतडी निवासी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ। जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिएका छन्।
ब्यारेकमै झुन्डिएको अवस्थामा मृत फेला परेकी महतका परिवारजनले इन्स्पेक्टर जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी दिएका थिए। जाहेरी दर्तापछि तनहुँस्थित २३ नम्बर गणमा कार्यरत जोशीलाई नियन्त्रणमा लिइएको हो। उनी सशस्त्र प्रहरी बलको १६औँ बेसिक ब्याचका इन्स्पेक्टर हुन्। परिवारका अनुसार जोशी र महत प्रेम सम्बन्धमा थिए, र सोही कारणले महतले आत्महत्या गर्नुपरेको जाहेरीमा उल्लेख गरिएको छ।
घटनाको थप अनुसन्धानका लागि सशस्त्र प्रहरी बलको हेडक्वार्टरले पनि छानबिन समिति गठन गरेको छ। राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) लक्ष्मण सिंहको नेतृत्वमा गठित उक्त छानबिन समिति घटनाको सम्पूर्ण पाटोमा अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ।
सिन्धुपाल्चोककी स्थायी बासिन्दा सन्तोषी महत सशस्त्र प्रहरी बलको १७औँ बेसिक ब्याचकी इन्स्पेक्टर हुन्। उनी हाल पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा तालिमरत थिइन्। ब्यारेकभित्रै रहेको महिला शौचालय नजिकको बीममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
सशस्त्र प्रहरी सेवामा २०७२ सालमा सिपाही पदबाट प्रवेश गरेकी महतले २०७८ सालमा सहायक निरीक्षक (असई) पदमा पदोन्नति प्राप्त गरेकी थिइन्। तत्पश्चात्, २०८१ सालमा इन्स्पेक्टर पदमा नाम निकालेर तालिम गरिरहेकी थिइन्। घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।