Sagun Khabar
बैतडीको मेलौलीमा होटेलको कोठाभित्र एक पुरुष मृत फेला

बैतडी- जिल्लाको मेलौली नगरपालिका–७ स्थित बिजु होटलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार मृतक मेलौली नगरपालिका–१ निवासी करिब ५५ वर्षीय तेजसिंह नायक रहेको पुष्टि भएको छ ।

प्राप्त जानकारीअनुसार सोमबार राति खाना खाएर होटलको १२ नम्बर कोठामा सुतेका नायक मंगलबार बिहान अबेरसम्म बाहिर नआएपछि होटल सञ्चालक र मृतककी आमाले खोजतलास गरेका थिए । खोजीका क्रममा कोठाको ढोका फोडेर हेर्दा उनी सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् । बिहान करिब साढे ८ बजेतिर उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

Atrya hospital

मृतकका आफन्तहरूका अनुसार काठमाडौँमा बस्दै आएका नायक हालै कुम्भ मेला दर्शन गरी पूजापाठका लागि मेलौली आएका थिए । घटनापछि मृतककी श्रीमती काठमाडौँ जादै गर्दा अत्तरियासम्म पुगेको अवस्थामा खबर पाएपछि उनी फर्किएको प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो । मृत्युको कारणबारे हालसम्म कुनै निष्कर्ष निस्किन सकेको छैन ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update