Sagun Khabar
आज महाशिवरात्रि : पाताल भुवनेश्वर धाममा धार्मिक प्रवचन

बैतडी –महाशिवरात्रिको अवसरमा बैतडीका शिव मन्दिर तथा शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्न थालेको छ । सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाममा आज धार्मिक प्रवचनको आयोजना गरिएको छ । 

गएको असोजदेखि पाताल भुवनेश्वर धाम परिसरमा तपस्यमा रहेकी गुरुआमाले प्रवचन दिने कार्यक्रम रहेको सुुर्नया गाउँपालिका–२ का अध्यक्ष गणेशबहादुर बिष्टले बताए । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रवचनको कार्यक्रम रहेको उनले बताए । 

पाताल भुवनेश्वर धाम जाने गेट नजिकै प्रवचनस्थल बनाइएको वडा अध्यक्ष बिष्टले बताए । 

Atrya hospital

पाताल भुवनेश्वर धाममा बिहानैदेखि भक्तजन आउन थालेका छन् । महाशिवरात्रीको अवसरमा पाताल भुवनेश्वर धाममा ठूलो मेला लाग्ने गर्दछ । यो मेलामा जिल्लाका विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्ने गरेका छन् । 

चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पाताल भुवनेश्वर धाममा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । सडकबाट झण्डै आधाकिलोमिटरको दुरीमा रहेको पातालभुवनेश्वरधाममा पुग्न पदमार्ग निर्माण गरिएको छ भने पछिल्लो समयमा मन्दिर निर्माणको काम समेत अघि बढाइएको छ । 

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसार पातालभुवनेश्वरगुफा दक्षिण एसीयाकै लामो गुफा हुन सक्ने अनुमान गरेको थियो । 

पातालभुवनेश्वरधाम अग्लो डाँडोमा अवस्थित भएपनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ । पछिल्लो समयमा संरक्षणको अभावमा ताल सुक्ने खतरा बढ्दै गएको स्थानीयबासी बताउँछन् । पाताल भुवनेश्वर धामको बारेमा स्कन्द पुराणको मानसखण्डमा समेत उल्लेख गरिएको पाइन्छ । 

भगवान विष्णुले राजा बलिलाई सोही गुफाबाट पाताल पठाएको र सोही बेलादेखि पातालभुवनेश्वर नाम रहेको बताईएको छ । यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पातालभुवनेश्वर शिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ । 

यस्तै महाशिवरात्रिको अवसरमा बैतडीका अन्य शिवालय तथा मन्दिरहरुमा मेला लागेको छ । दशरथचन्द नगरपालिका–४ स्थित देवलहाट मन्दिर, पाटनस्थित स्वर्गेनी पिपलधाम, खोड्पे शिव मन्दिर, शंकरपुरको शिवालय, मेलौलीको गेरडास्थित शिवधाम लगायतमा महाशिवरात्रीको अवसरमा मेला लागेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update