
बैतडी –बैतडीमा भोलिदेखि शुरु हुने मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको आयोजना मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए । उक्त प्रतियोगितामा डिलाशैनी बाहेक ९ ओटा पालिकाको सहभागिता रहने उनले बताए ।
सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ए मा मेलौली नगरपालिका र सिगास गाउँपालिका , समूह बी मा सुर्नया र दोगडाकेदार गाउँपालिका, समूह सी मा पाटन नगरपालिका र शिवनाथ गाउँपालिका, समूह डी मा दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र पुर्चाैडी नगरपालिका रहेका छन् । भोलि बिहान हुने उद्घाटन खेलमा मेलौली र सिगास भिड्नेछन् ।
उद्घाटनपश्चात हुने अन्य खेलमा सुर्नया र दोगडाकेदार,दशरथचन्द र पञ्चेश्वर,पाटन र शिवनाथ खेल्ने भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले बताए ।
फागुन १६ गते हुने खेलहरूमा दशरथचन्द र पुर्चाैडी, पुर्चाैडी र पञ्चेश्वर आमनेसामने हुनेछन् ।सोही दिन समूह ए को विजेता र समूह सी को उपविजेता,समूह बी को विजेता समूह डी को उपविजेता बीच नकआउट खेल हुने भलिबल प्रशिक्षक भण्डारीले बताए ।
फागुन १७ गते समूह सी को विजेता र समूह ए को उपविजेता,समूह डी को विजेता र समूह बी उपविजेताबीच नकआउट खेल हुनेछ ।
नटआउट खेलपश्चात सेमिफाइनलका खेलहरू हुनेछन् । फागुन १८ गते तेस्रो र सान्त्वना तथा फाइनल खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी पाउनेछ ।
यस्तै तृतीय पुरस्कार नगद ३५ हजार र ट्रफी र सान्त्वना पुरस्कार नगद १५ हजार रुपैयाँ र ट्रफी राखिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै नयाँ खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।