
बैतडी – बैतडीको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडावासीका सबै विद्युत महसुल दुई वर्षदेखि व्यहोर्दै आएका छन्। उनले आफ्नो मासिक पारिश्रमिकबाट वडाका ३०० ग्राहकको विद्युत महसुल तिर्दै आइरहेका छन्।
वडा अध्यक्ष भाटले २०७९ साउनदेखि २०८१ पुस मसान्तसम्मको विद्युत महसुल तिरेको रसिद घर–घरमै पु¥याउने गरी टोल–टोलमा वितरण गरिरहेको जानकारी दिएका छन्। वडावासीलाई जानकारी दिन र प्रत्यक्ष भेटघाट गर्नका लागि उनी स्वयं प्रत्येक टोलमा पुगेर रसिद हस्तान्तरण गरिरहेका छन्।
उनले आफ्नो कार्यकालभर वडावासीको विद्युत महसुल तिर्ने घोषणा अनुरूप इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे। साथै, उनले पारिश्रमिक नलिने र सो रकम वडावासीको हितका लागि खर्च गर्ने आफ्नो निर्णय प्रति प्रतिबद्ध रहेको प्रस्ट पारे।
स्वर्गीय आमाको काजकिरियामै रहेकोबेला विद्युत महसुलको रसिद वितरण गर्न टोल–टोलमा पुगेका थिए। वडा अध्यक्ष भाटको समाजप्रति समर्पित सेवाभाव र निःस्वार्थ कार्यको स्थानीयले उच्च प्रशंसा गरेका छन्।