Sagun Khabar
पत्रकार महासंघ बैतडीलाई सुझाव पत्र

सुरेश अवस्थी, बैतडी— पत्रकारिता समाजको ऐना हो, जसले सत्य, तथ्य, र निष्पक्षताका आधारमा जनतालाई सूचित गर्ने कार्य गर्दछ । बैतडीमा नयाँ नेतृत्व चयन भएको दुई महिना पूरा भइसकेको छ, तर यो अवधिमा जिल्लाको पत्रकारिता क्षेत्रलाई मजबुत बनाउन, सञ्चारमाध्यमलाई पुनः जागृत गराउन, र पेशागत गरिमा जोगाउन के–कस्ता ठोस कदम चालिएका छन् भन्ने विषयमा स्पष्टता आवश्यक देखिन्छ ।

बैतडीमा सञ्चार क्षेत्र आर्थिक, व्यवस्थापकीय, र नैतिक दृष्टिकोणले नै कमजोर बन्दै गएको छ । कतिपय सञ्चारमाध्यम आर्थिक कठिनाइका कारण बन्द हुने अवस्थामा छन् भने केही सञ्चारकर्मी पेशाबाट पलायन हुने क्रम बढ्दै गएको सर्वविदितै छ । यसबाहेक, पेशागत निष्ठाभन्दा व्यक्तिगत स्वार्थ तथा राजनीतिक प्रभावले सञ्चार क्षेत्रमा नकारात्मक प्रभाव पार्दै आएको कुरा सबैलाई थाहा भएकै विषय हो ।

पत्रकार महासंघको दायित्व भनेको पत्रकारहरूको हकहित संरक्षण गर्नु, पत्रकारिताको गुणस्तर वृद्धिमा योगदान दिनु हो । तथापि, बैतडीमा जिम्मेवार तथा व्यावसायिक पत्रकारिताको प्रवद्र्धन गर्न महासंघले कस्ता योजना बनाइरहेको छ भन्ने स्पष्ट छैन । यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक छ ।

Atrya hospital

बैतडीमा पत्रकारिता अध्ययन गर्नेभन्दा सिक्दै गरेका पत्रकारहरू धेरै छन् । यद्यपि, सिनियर पत्रकारहरूबाट उनीहरूलाई आवश्यक मार्गदर्शन प्राप्त नभएको गुनासो मेरो आफ्नै छ । बरु, कतिपय ठूला भनिने पत्रकारहरूकै कारण नयाँ पत्रकारहरूलाई पेशागत संघर्षमा थप चुनौती सिर्जना भइरहेको छ । अनुभवी पत्रकारहरूले नयाँ पुस्तालाई सहयोग गर्नुको साटो अवसरमा रोकावट पु¥याउने प्रवृत्ति झन् बढ्दो छ ।

नयाँ पुस्तालाई प्रोत्साहित गर्न महासंघले तालिम, कार्यशाला तथा विभिन्न ज्ञानवद्र्धक कार्यक्रमहरूको आयोजना गर्न आवश्यक देखिन्छ । यदि महासंघले नै पत्रकारिताका नयाँ प्रतिभाहरूलाई समेट्ने वातावरण बनाउने हो भने बैतडीको पत्रकारिता उज्यालो भविष्यतर्फ उन्मुख हुन सक्छ । नत्र केही वर्षमै राजनीतिक रूपमा आश्रित व्यक्तिहरू मात्रै पत्रकारितामा देखिने स्थिति आउन सक्छ ।

राजनीतिक रूपमा आश्रित व्यक्तिहरूले व्यक्तिगत लाभ त लिन सक्छन्, तर बैतडीको समग्र पत्रकारिताको भविष्य अन्धकारमय बन्न सक्छ । हाम्रा कारण अर्को पुस्ताले पाउने पीडाको जिम्मेवार को हुनेछ र ? हामी क्षणिक छौँ, तर हामीपछि यहाँ कर्मभूमि बनाउनेहरू अझै छन् । यो अवस्था न त यहाँका स्वघोषित नेताहरूले बुझ्न सक्छन्, न त उनीहरूका अन्धभक्तहरूले ।

पत्रकार महासंघ कुनै राजनीतिक दलको भातृ संगठन होइन, हुन सक्दैन भन्ने मेरो बुझाइ हो । तर, विगतमा सुधारका लागि संघर्ष गर्दा महासंघ निष्पक्ष रहेको भन्ने ग्यारेन्टी गर्न सकिन्न । महासंघका सदस्यहरू राजनीतिक दबाबमा परेर काम गरेको आरोप लाग्दै आएको नौलो विषय होइन । यसको ज्वलन्त उदाहरण हो— जिल्ला पत्रकार महासंघको निर्वाचनमा नराम्रोसँग हार व्यहोरेको नेकपा एमालेको ‘भातृ संगठन’ प्रेस चौतारीको अधिवेशनमा खुलेआम दिइएको भाषण ।

एक जना एमालेका  नेताले खुलेआम भनेका थिए— “प्रेस चौतारी नेकपा एमालेको भातृ संगठन हो, यहाँ कसैको केही चल्दैन, यो संगठन हामी चलाउँछौँ।“ पत्रकार महासंघको निर्वाचनमा हार भोगेपछि भएको यस्तो अभिव्यक्तिले झनै प्रस्ट्याउँछ कि कतिपय सञ्चारकर्मीहरू आफैंलाई कुनै दल विशेषको समर्थकका रूपमा प्रस्तुत गरिरहेका छन् ।
पत्रकारिताको मूल धर्म निष्पक्षता हो । त्यसैले महासंघले आफ्ना सदस्यहरूलाई व्यावसायिक आचारसंहितामा आधारित रहेर मात्र काम गर्न प्रेरित गर्नु अहिलेको आवश्यकता हो ।

बैतडीमा सरकारी कार्यालयहरू तथा अन्य संस्थाहरूले सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गर्छन् । तर, यस्ता कार्यक्रममा निश्चित व्यक्तिहरू मात्र सहभागी हुने, अन्यलाई बेवास्ता गरिने प्रवृत्ति देखिएको छ । महासंघले पत्रकारहरूबीच समतामूलक अवसर सुनिश्चित गर्न पहल गर्न आवश्यक छ । सबै पत्रकारले कार्यक्रममा अनुभव लिन पाऊन्, उनीहरूलाई सिकाइको अवसर मिलोस्, र आर्थिक रूपमा पनि सहयोग होस् भन्ने व्यवस्था हुनुपर्छ ।

बैतडीमै सूचना, कार्यक्रम, सार्वजनिक सुनुवाइ जस्ता गतिविधिहरू भइरहँदा महासंघले स्थानीय तह तथा संघसंस्थाहरूसँग समन्वय गरेर सञ्चारमाध्यम र पत्रकारहरूको सहभागिता सुनिश्चित गरिदिने हो भने संकटको यो अवस्था सहज हुन सक्छ ।

प्रदेश तथा केन्द्र सरकारले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्छन् । तर, बैतडीका पत्रकारहरू यस्ता कार्यक्रममा सहभागी हुन नपाएको अनुभव मैले आफैंले गरेको छु । महासंघले केन्द्र वा प्रदेशसँग समन्वय गरी जिल्लाका पत्रकारहरूका लागि पनि नियमित तालिमको व्यवस्था गर्न सके राम्रो हुन्थो की ?

महासंघले अब गर्नुपर्ने मुख्य कार्यहरूः
नयाँ पत्रकारहरूलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्नु ।
व्यावसायिक तथा नीतिगत आचारसंहिता कार्यान्वयन गर्न पहल गर्नु ।
राजनीतिक हस्तक्षेपको अन्त्य गर्दै स्वतन्त्र पत्रकारिताको प्रवद्र्धन गर्नु ।
पत्रकारहरूको लागि आर्थिक सुरक्षासम्बन्धी योजना निर्माण गर्नु ।
स्थानीय सञ्चारमाध्यमको सशक्तीकरणका लागि महासंघले विशेष पहल गर्नु ।

यदि महासंघले यी विषयमा गम्भीरतापूर्वक ध्यान दिएन भने बैतडीको पत्रकारिता क्षेत्र थप समस्यामा फस्ने दुईमत छैन । त्यसैले, नयाँ नेतृत्वले पत्रकार महासंघलाई चलायमान, व्यावसायिक, तथा समाजको विश्वास जित्ने संस्थाका रूपमा अघि बढाउनु अत्यावश्यक छ ।
धन्यवाद ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update