Sagun Khabar
दार्चुलाको किम्तडी ठण्याकाठामा पहिरो, खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध 

दार्चुला-दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा लेदासहितको पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ। हालै मात्र मर्मत सम्पन्न गरिएको उक्त सडक खण्डमा माथिबाट आएको पहिरोका कारण विहान ७ बजेबाट यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो।

सडक अवरुद्ध हुँदा तराईबाट जिल्लाको सदरमुकाम आउँदै गरेका तथा जिल्लाबाट बाहिरिने सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्। नेपाल बस व्यवसायी संघ दार्चुलाका सदस्य दुर्गादत्त भट्टका अनुसार यात्रुहरू लामो समयदेखि बाटो खुल्ने प्रतीक्षामा रहेका छन्।

Atrya hospital

यातायात व्यवसायी तथा यात्रुहरूले सम्बन्धित निकायलाई पहिरो पन्छाएर यातायात पुनः सञ्चालन गराउने अनुरोध गरेका छन्। सडक अवरुद्ध हुँदा जिल्लाभित्र तथा बाहिर जाने सम्पूर्ण सवारी साधन ठप्प भएका छन्, जसले स्थानीयवासी तथा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ।

सरोकारवाला निकायले तत्काल पहिरो हटाई सडक सुचारु गर्न आवश्यक पहल गर्ने आशा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update