
दार्चुला–भाग्य कहिलेकाहीँ यति निर्मम बन्छ कि, आँसु झर्ने फुर्सदसमेत दिँदैन। एउटै घरमा दुःखको भार सहन नपाउँदै अर्को बज्रपात आउँदा कति पीडादायी हुन्छ होला? दार्चुलाको एक परिवार अहिले त्यही पीडाको चपेटामा परेको छ— बुवाको शव घर नपुग्दै छोरीको समेत अन्त्येष्टिका लागि अर्को शव तयार गरिँदैछ।
मोहन बोहरा— त्रिवेणी भन्सार कार्यालय, नवलपरासीमा कार्यरत कार्यालय सहयोगी। सामान्य दिनहरू बिताउँदै गर्दा फागुन १३ को रात उनले यो संसारलाई नै छोडेर गए। मृत अवस्थामा भेटिएको उनको शरीर पोस्टमार्टमपछि अन्त्येष्टिका लागि गृह जिल्ला दार्चुला पठाइयो। यही शवसँगै आँसु, पीडा, र शून्यता बोकेर उनकी छोरी निर्मला पनि घर फर्किँदै थिइन्। तर कसलाई थाहा थियो, उनी पनि गन्तव्यसम्म कहिल्यै पुग्ने छैनन् भन्ने?
बुवाको पार्थिव शरीरलाई दार्चुला पठाएर निर्मला महेन्द्रनगरतर्फ लागिन्। शायद मनभरि शोक थियो, आँखामा आँसु रोक्न नसक्ने पीडा थियो। तर विडम्बना घर पुग्नु त परै जाओस्, बाटैमा उनको जीवनको यात्रा सकियो।
शुक्लाफाँटा नगरपालिका–५ को वन समितिको नजिकै विहिबार अत्तरियाबाट महेन्द्रनगर गइरहेको उनको मोटरसाइकललाई ट्रकले ठक्कर दियो। मोटरसाइकल पछाडि सवार निर्मलालाई त्यो ठक्करले सधैंका लागि अँध्यारोमा विलीन गरिदियो। बुवाको मृत्युले उनलाई हल्लाइरहेकै थियो, तर यो चोट त अझै असह्य बन्यो— परिवारका लागि, आफन्तका लागि, र सिंगो गाउँका लागि।
उनी भाडामा बसेर महेन्द्रनगरमा अध्ययन गर्दै थिइन्। सानो भाइको भविष्यका लागि दिदी बनेर, अभिभावक बनेर संघर्ष गरिरहेकी थिइन्। तर नियतिलाई के थाहा, उनले लेख्न खोजेको कथा अधुरै रहनेछ भनेर?
अब दार्चुलातर्फ दुई शव लैजाने तयारी भइरहेको छ— एउटै परिवारका दुःखमा डुबेका दुई अस्तित्व। गाउँ नै शोकमा छ, एकै घरबाट उठेका दुई शवले सबैको मन भारी बनाएको छ। यो केवल एउटा मृत्युको समाचार होइन, यो त नियतिको क्रुर खेल हो, जसले एकै परिवारलाई दोहोरो बज्रपात दिएर छियाछिया पारेको छ।