
सुरेश अवस्थी–दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६, निसिलका स्थायी बासिन्दा मोहन बोहरा, जो हाल त्रिवेणी भन्सार कार्यालय, नवलपरासीमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए, फागुन १३ गते हृदयघातका कारण दिवंगत भए। उनको असामयिक निधनले परिवार, इष्टमित्र र गाउँलेहरूलाई स्तब्ध बनायो।
तर नियतिले अझै क्रूर मोड लियो। बुबाको अन्तिम अनुहार हेरेर कञ्चनपुरबाट फर्किंदै गरेकी मोहन बोहराकी छोरी, निर्मला बोहरा, फागुन १५ गते सवारी दुर्घटनामा परी ज्यान गुमाइन्। पढाइको सिलसिलामा निर्मला र उनका भाई महेन्द्रनगरमा भाडाको घरमा बस्दै आएका थिए।
एकै परिवारका दुई सदस्यको दुई दिनको फरकमा भएको मृत्युले सम्पूर्ण निसिल गाउँ शोकमग्न बनेको छ। बुवा र छोरी दुवैको पार्थिव शरीर कञ्चनपुरमा एउटै चिहानमा अन्त्येष्टि गरियो। मृत्तक बोहराका आफन्त नविन धामीले यो हृदयविदारक घटनाको पुष्टि गरेका छन्।
यो घटना नियतिको निर्मम खेल जस्तो लाग्छ। जसले एकै झट्कामा एक परिवारको बिस्तारै खडा हुँदै गरेको आशाको महल भत्काइदियो। बुबा मोहन बोहरा, जसले आफ्नो परिवारका लागि रगत–पसिनाले सिञ्चित गर्दै उज्ज्वल भविष्यको सपना देखेका थिए, तिनै बुबालाई अन्तिम पटक हेरेर फर्किंदै गरेकी छोरी निर्मलाको मृत्युले सबैको मन छोएको छ।
सिंगो निसिल गाउँमा यो खबरले कहर मच्चाएको छ। गाउँका बुढापाका, युवा र बालबालिकाको आँखा रसाएका छन्। सबैले एक स्वरमा नियतिको यो खेल प्रति आक्रोश पोखे। बुबा–छोरीको एकै चिहानमा गरिएको अन्त्येष्टिले उपस्थित सबैको मन रोइरहेको थियो।
यो घटनाले हामी सबैलाई जीवनको अनिश्चितता र परिवारको महत्व सम्झाएको छ। मोहन बोहराको परिवार अहिले गहिरो शोकमा डुबेको छ।
यो बियोगान्त घटनाले निसिल गाउँलाई मात्र होइन, सम्पूर्ण दार्चुलालाई शोकमा डुबाएको छ। जीवन र मृत्युको यो खेलले बाँकी आफन्त र गाउँलेलाई पीडित बनाएको छ।
शोकको यो घडीमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै परिवारजनलाई हार्दिक समवेदना व्यक्त गर्दछौं।