Sagun Khabar
हिउँद सकिनै लाग्दा हिउँदे बर्षा, किसान खुसी 

बैतडी–यो बर्ष हिउँद सकिनै लाग्दा हिउँदे बर्षा भएको छ । बिहीबारदेखि लगातार बर्षा भइरहेको छ । बैतडीसहित सुदूरपश्चिम पश्चिमी वायु सक्रिय भएपछि हिउँदे बर्षा भएको हो । 

उच्च क्षेत्रहरुमा हिमपातका साथै हिउँदे बर्षा भएपछि किसानहरु खुसी भएका छन् । यो बर्ष लामो समयदेखि पानी नपरेको र यो बर्षाले बालीनालीका लागि निकै फाइदा पुगेको पाटन–९ की जयन्ती बिजलेले बताइन् । उनले भनिन्, ‘हाम्रो क्षेत्रमा सिँचाइको अभाव छ । यो बर्षाले अन्नबाली, तरकारीबाली र फलफूलका लागि निकै फाइदा पुर्याएको छ । हामी किसानहरु धेरै खुसी भएका छौं ।’

Atrya hospital

हिउँद सकिनै लाग्दा भएको बर्षाले बालीनालीको उत्पादन वृद्धिमा सहयोग पुग्नुका साथै तरकारी खेतीमा आवद्ध किसानहरुलाई फाइदा पुगेको पाटन नगरपालिकाको कृषि शाखामा कार्यरत प्राविधिक महेश अवस्थीले बताए । सिँचाइको सुविधा नभएका ठाउँका लागि यो बर्षा निकै लाभदायक भएको उनले बताए । 

बैतडीका उच्च क्षेत्रहरुमा किसानहरुले आलु खेती गर्ने गरेका छन् । आलु रोपेका किसानहरुलाई यो बर्षाले झन् फाइदा पुर्याएको उनले बताए । 

यस्तै यो बर्षाले गहुँबालीमा पनि फाइदा पुगेको अवस्थीले बताए । सिँचाइ नभएका ठाउँमा बर्षाले सिँचाइको काम गरेको उनले बताए । बैतडीमा १५ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आएको छ । आधाभन्दा बढी क्षेत्रमा सिँचाइको सुविधा पुग्न सकेको छैन् । 

हिउँदे बर्षाले फलफूल खेतीमा निकै फाइदा पुग्ने सुख्खा फलफूल विकास केन्द्रका सहायक वागवानी विकास अधिकृत चन्द्र ठगुन्नाले बताए । अहिले हिउँदे फलफूल रोप्ने समय भएकाले यो बर्षाले निकै फाइदा पुगेको उनले बताए । यस्तै हिउँदे फलफूलमा पालुवा आउने समय भएकाले यो बर्षा निकै लाभदायक रहेको उनले बताए । 

नेपालमा समान्यतया मंसिर १६ गतेदेखि फागुन १६ गतेसम्मलाई हिउँदेयाम मानिन्छ । हिउँदको समयमा यो बर्ष खासै बर्षा नभएको र हिउँदको अन्तिममा भएको बर्षाले खेतीपातीका लागि केही राहत पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update