
सुरेश अवस्थी–बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको राताशिला त्रिवेणी धाम धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल मानिन्छ । यो धाम हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको छ । पौराणिक मान्यताहरू, जनश्रुति, स्थानीय विश्वास, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक विविधताको समावेशले गर्दा यो स्थानले विशेष महत्त्व राख्दछ ।
राताशिला त्रिवेणी धामको उत्पत्तिसँग जोडिएको एक गहिरो ऐतिहासिक घटना नौँ शताब्दीको मानिन्छ । जनविश्वास अनुसार, पुर्चौडीकै भटनामा महादेवको अवतार भएको थियो । एक किसानले गोरु जोत्ने क्रममा 'हलोको फाली'ले महादेवकै अङ्गमा चोट लाग्दा रक्तश्राव भयो, जुन बग्दै बग्दै त्रिवेणी धामस्थित एक शिलामा जमेर रक्तशिला उत्पन्न भएको मानिन्छ ।
सगुन अनलाइन टिभिको विशेष रिपोर्टमा राष्ट्रीय पण्डित व्यास आचार्य पर्वत खेमराज ओझाले यस स्थानको धार्मिक महत्त्वबारे प्रकाश पार्दै भन्नुभएको छ कि, “यो धाम एक जागृत स्थल हो, जहाँ महादेवको दिव्य उपस्थितिको अनुभूति गर्न सकिन्छ ।“
राताशिला त्रिवेणी धाम शिवको दिव्य अंशको रूपमा पूजा गरिन्छ । हिन्दू परम्परा अनुसार हिमालय क्षेत्रलाई “देवदेशो हिमालय“ अर्थात् देवताको देश नै हिमालय हो भन्ने वेद वाक्य उल्लेख गरिएको छ । हिमालयमा माटो हुँदैन, केवल शिला नै हुन्छ, त्यसैले यहाँका विभिन्न स्थानहरूमा गात अर्थात शिलाको पूजाको परम्परा रहेको छ ।
पण्डित ओझाका अनुसार, “यहाँको शिला महादेवकै अङ्गको रूपमा मानिन्छ, जसले भक्तजनहरूलाई शिवको दिव्य अनुभूति प्रदान गर्छ ।“ यो धार्मिक स्थलमा उज्यालो नवरात्रका विशेष समयमा मात्र केही भाग्यमानी भक्तहरूले मात्र शिलाको दर्शन गर्न पाउने जनश्रुति छ ।
यस पवित्र स्थलमा तीन नदीहरूको संगम छः बग्गाड गाड, तोली गाड र कोटीली गाड । हिन्दू धर्मशास्त्रअनुसार त्रिवेणी संगम भएका स्थानहरू अत्यन्तै पवित्र मानिन्छन् । हरिबोधनी एकादशीको अवसरमा यहाँ भव्य मेला लाग्छ, जसमा स्थानीयबासी तथा टाढा–टाढाका श्रद्धालुहरूको ठूलो सहभागिता रहन्छ ।
यस धामको विशेषता भनेको यहाँ गरिने पूजा विधि तथा सांस्कृतिक कार्यक्रमहरू हुन्, जसले हिन्दू धर्मको धार्मिक परम्पराहरूलाई अझ मजबुत बनाएको छ । राताशिला त्रिवेणी धामसँग जोडिएका विभिन्न धार्मिक कथा तथा विश्वासहरू प्रचलित छन् । पसमा स्थानीय बुढापाकाहरूका अनुसार, हरिद्वारमा स्नान गर्नु र राताशिलाको संगममा स्नान गर्नु समान फलदायी छ । प्राकृतिक रूपमा अत्यन्तै मनमोहक यस ठाउँलाई राज्यले प्रवद्र्धन नगरेकाले अझै पनि पर्याप्त प्रचार–प्रसार हुन सकेको छैन । यहाँको शिला खास समयमा मात्र देखिने अन्य समयमा अदृश्य हुने मान्यता रहेको छ ।
सुदूरपश्चिममा अवस्थित राताशिला त्रिवेणी धामलाई धार्मिक पर्यटनको रूपमा प्रवद्र्धन गर्न सकिएमा स्थानीय अर्थतन्त्रमा उल्लेखनीय सुधार आउन सक्छ । उचित प्रचार–प्रसार, यातायात व्यवस्थापन, आधारभूत पूर्वाधारको विकास तथा सरकार तथा स्थानीय समुदायको संलग्नताले यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थलको रूपमा स्थापित गर्न सकिन्छ ।
राताशिला त्रिवेणी धाम एक पवित्र धार्मिक स्थल मात्र नभएर, ऐतिहासिक र सांस्कृतिक रूपमा अत्यन्तै महत्वपूर्ण स्थान हो । यस स्थानको धार्मिक महत्त्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजनाहरू आवश्यक छन् । यहाँको धार्मिक मान्यताहरू, प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहर संरक्षण गर्न सकेमा यो धामलाई हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ ।