Sagun Khabar
नयाँ शिक्षा ऐन चाँडै आउँछ: उद्योग मन्त्री भण्डारी 

बैतडी –उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नयाँ शिक्षा ऐन चाँडै आउने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशनको उद्दघाटन गर्दै मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार लागिरहेको बताए । 

शिक्षा ऐनमा सबै शिक्षकहरुका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन ल्याउन लागेको उनले बताए । शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने उनले दाबी गरे । उनले भने, ‘नयाँ व्यवस्था अनुसार नयाँ शिक्षा ऐन आवश्यक छ । यसको लागि सरकार लागिपरेको छ । शिक्षा क्षेत्रलाई सुधार गर्ने गरी नयाँ शिक्षा ऐन आउँछ ।’

Atrya hospital

अहिले एमाले र कांग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको मन्त्री भण्डारीको दाबी छ । सरकारले अध्यादेशमार्फत ल्याएका कानुनहरु अहिलेको आवश्यकता भएकाले संसदबाट पारित गर्नुपर्नेमा जोड दिए । 

यस्तै देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एकभएर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड थियो । अर्थतन्त्रमा सुधार आएमात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्नेमा उनले जोड दिए । 

नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको अधिवेशनमा मन्त्री भण्डारी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय अध्यक्ष विष्णु भण्डारी विशिष्ट अतिथी रहेका थिए । 

अधिवेशनले नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update