
दार्चुला – हिउँदे वर्षाका कारण दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडी ठण्याकाठामा लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार आज बिहान निर्माण व्यवसायीले स्काभेटरको प्रयोग गरी सडक खुलाएका हुन्। सडक खुलेसँगै हिजोदेखि रोकिएका यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
हिउँदे वर्षाका कारण पहिरो गएपछि यात्रुहरू बिचल्लीमा परेका थिए। अवरुद्ध सडकका कारण लामो समय यात्रुहरू अलपत्र परेका थिए भने आवश्यक सामग्रीको ढुवानीमा पनि अवरोध पुगेको थियो। सम्बन्धित निकायको सक्रियतापछि सडक सञ्चालन भएसँगै यात्रुहरू सहज रूपमा गन्तव्यतर्फ जान पाएका छन्।
स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ भने आगामी दिनमा पनि यस्ता प्राकृतिक अवरोध आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।