
सुरेश अवस्थी,बैतडी – एक आमाले जन्म दिएको छोरा, जसलाई उनले मायाले हुर्काइन्, जसका लागि उनले हजारौँ सपना देखिन्। एक श्रीमती जसले भर्खरै जीवनसाथी पाएर भविष्यका मीठा सपनाहरू बुनेकी थिइन्। र, एक बुवा जसले छोराको भविष्य उज्यालो बनाउन संघर्ष गरे। ती सबै सपनाहरू एकै क्षणमा गोलीको आवाजसँगै चकनाचुर भए।
शनिबार राति करिब ९ बजे, बैतडीको दोगडाकेदार गाउँपालिका-८ मा एउटा घटना घट्यो, जसले गाउँ नै स्तब्ध बनायो। सुरेन्द्र विष्ट – 24 वर्षीय जिप व्यवसायी, जो चौसिलाबाट खोचलेक, सिल्लेगडा हुँदै सदरमुकामसम्म गाडी चलाउँदै आफ्नै परिश्रममा भविष्य बनाइरहेका थिए। तर, एक लेनदेन विवादले उनको जीवनको अन्त्य गरिदियो।
सुरेन्द्रकी आमा माइत गएकी थिइन्। सामान्य दिनहरूमा जस्तै उनले आफ्नो घर छोडेर माइती गएकी थिइन्, तर के उनले कल्पना गरेकी थिइन् कि फर्किंदा उनको छोराको शवसँग भेट हुनेछ?
उनी जब माइतीमा छँदा छोराको मृत्युको खबर आयो, उनका खुट्टा काँपिए, आँखाले देख्न छाड्यो, शरीर नै सुन्नियो। छोरालाई अन्तिम पटक हेर्न उनी बेस्सरी रुन्दै गाउँ फर्किइन्। "मेरो छोरा! ओह, मेरो बाबु! तैले मलाई किन यस्तो चोट दियस बाबु?" उनको चित्कारले गाउँ नै रुवायो।
सन्तानलाई खुवाउने, खेलाउने, हुर्काउने हरेक आमाको एउटै सपना हुन्छ – छोराले सुख पाओस्। तर, त्यो सपना आमाका लागि पीडामा परिणत भयो। माइतीबाट फर्केर उनले जुन दृश्य देखिन्, त्यो कुनै आमाले देख्न नपरोस् – उनका 24 वर्षका जवान छोरा रक्ताम्य अवस्थामा चिसो शव बनेका थिए।
सुरेन्द्रले मात्र २-३ महिना अगाडि बिहे गरेका थिए। नवविवाहित जोडी, जसले भर्खरै जीवनको नयाँ यात्रा थालेका थिए। सुरेन्द्रका श्रीमतीका सपना ताजै थिए, उनीहरूले एकसाथ बाँच्ने, रमाउने, परिवार बढाउने सपना देखेका थिए।
तर त्यो रात उनका लागि सबैभन्दा कालो रात बन्यो। जब गाउँलेहरूले उनलाई खबर सुनाए, उनको मनमा हजारौँ प्रश्न उब्जिए। "हिजो भर्खरै खाना खाएर गएका थिए, आज किन आएनन्?"
घरभरि रुवाबासी मच्चियो। उनले सोधिन्, "मेरो श्रीमान् किन बोल्दैनन्? किन मसँग फर्केर आउँदैनन्?" तर उत्तर दिने कोही थिएन।
"मैले त भर्खरै उनलाई सिन्दूर लगाएर सुम्पेकी थिएँ, अब मेरो जीवनको अर्थ के?"
नयाँ जीवनसाथी पाएर खुसी बाड्ने उमेरमा उनी अहिले श्रीमान्को शव अगाडि विलाप गरिरहेकी छिन्।
सुरेन्द्रका बुवा, जसले छोरा हुर्काउन असाध्यै मिहिनेत गरे। गरिबीको रेखाबाट छोरालाई माथि उठाउने सपना देखे। उनका सपना थिए, "मेरो छोरो सक्षम बनोस्, मेरो छोरोले समाजमा राम्रो नाम कमाओस्।"
तर, उनको त्यो सपना एकैछिनमा बिखण्डित भयो। घरमा फोन आयो – "तपाईंको छोरालाई गोली लागेको छ!"
उनको मन काँप्यो, हात थरथर काम्यो। उनलाई अझै विश्वास थिएन कि यो समाचार सत्य हुन सक्छ। जब उनी अस्पताल पुगे, छोरा मृत्यु भइसकेको थियो।
उनको मनमा एउटै प्रश्न खेल्यो – "मैले किन छोरालाई एकपल्ट अगाडि हेर्न पाइनँ? किन उसँग अन्तिम शब्द बोल्न पाइनँ?"
अमानवीय हत्या: गाउँमा स्तब्धता
स्थानीयका अनुसार, सुरेन्द्र गाडी रोकेर खाना खाइरहेका थिए। अचानक कर्ण विष्ट आए। उनीहरूबीच लेनदेनको विषयमा विवाद भयो। विवाद चर्किँदै गयो।
कर्ण रिसले चुर भए, उनी घर गएर बन्दुक लिएर आए। कसैले पनि सोचेका थिएनन् कि त्यो झगडाले यस्तो मोड लिन्छ।
रातको शान्ती चिर्दै बन्दुक पड्कियो – गोली सिधै सुरेन्द्रको पेटमा लाग्यो।
गाउँलेहरू दौडेर आए। कोही कराउँदै थिए, कोही मद्दत माग्दै थिए। सुरेन्द्रलाई तत्काल अस्पताल लैजान खोजियो, तर बाटोमै उनले प्राण त्यागे।
यो घटना केवल एउटा परिवारको पीडा होइन, सम्पूर्ण समाजको लागि प्रश्न हो – किन मानिसहरू लेनदेनकै विषयमा ज्यान लिने अवस्थामा पुग्छन्? किन बन्दुक जस्तो घातक हतियार सामान्य विवादमा प्रयोग हुन थालेको छ? कानुनी व्यवस्था कति बलियो छ, जसले यस्ता अपराधलाई रोक्न सक्छ? कर्ण विष्ट हाल फरार छन्, प्रहरी उनको खोजीमा छ। तर सुरेन्द्र फर्केर आउँदैनन्।
सुरेन्द्रका दाइ प्रहरीमा छन्। उनले आफ्नो सानो भाइलाई न्याय दिलाउने प्रण गरेका छन्। सुरेन्द्रको आत्माले शान्ति पाओस्, उनका आमाबाबु र श्रीमतीले धैर्य धारण गर्न सकून्। यो घटनाले समाजलाई नयाँ चेतना प्रदान गरोस् कि कुनै पनि विवादले निर्दोष जीवन नलियोस्।