Sagun Khabar
केशव दत्त जोशी : समाज सेवामा समर्पित नेतृत्वको उदाहरण 

बैतडी- समाजसेवा, इमानदारिता र नेतृत्व क्षमताको अद्वितीय उदाहरण बनेका व्यक्ति हुन् – केशव दत्त जोशी। दार्चुलाको शैल्यशिखर नगरपालिका–८ का वर्तमान वार्ड अध्यक्ष जोशी विगत लामो समयदेखि आफ्नो क्षेत्रमा विकास, समाज सेवा र जनकल्याणकारी कार्यहरूमा सक्रिय छन्।

उनको यात्रा २०७४ सालमा वार्ड सदस्यको रूपमा निर्वाचित भएपछि सुरु भयो। आफ्नो इमानदारिता, मेहनत र समाज परिवर्तन गर्ने इच्छाशक्तिका कारण उनले २०७९ को स्थानीय तह निर्वाचनमा अत्यधिक मतान्तरसहित वार्ड अध्यक्षको जिम्मेवारी प्राप्त गरे। सधैं जनताको सेवामा समर्पित रहँदै, सीमित स्रोत(साधनका बाबजुद उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, तथा समाज सेवामा उल्लेखनीय योगदान गरेका छन्। 

अध्यक्ष जोशीको राजनीतिक यात्रा २०७४ सालमा वार्ड सदस्यको रूपमा निर्वाचित भएपछि औपचारिक रूपमा सुरु भयो। तर, उनको सेवा भाव भने त्यसअघि नै देखिन्थ्यो। सधैं जनतासँग नजिक रहेर उनीहरूका समस्या बुझ्ने र समाधान खोज्ने स्वभावले गर्दा स्थानीय जनताले उनीप्रति विश्वास गरे। 

Atrya hospital

२०७९ सालको स्थानीय निर्वाचनमा उनले आफ्नो वडामा ऐतिहासिक मतान्तर ल्याउँदै विजयी भए। उनको जितसँगै जनताको चाहना स्पष्ट थियो – एक सक्षम, इमानदार र जनमुखी नेतृत्व। तर, यो यात्रामा उनलाई सहज बाटो थिएन। कांग्रेस समर्थित नेताहरू र कार्यकर्ताहरूबाट व्यापक अवरोध खेप्नुपरेको थियो। तैपनि, उनले आफ्नो उद्देश्य स्पष्ट राख्दै, कुनै राजनीतिक दबाबमा नपरी जनताको सेवामा समर्पित रहे। 

अध्यक्ष जोशीको नेतृत्वमा वडामा विभिन्न ठूला पूर्वाधार विकासका कामहरू सम्पन्न भएका छन्। गोकुलेश्वर–बन्तोली–पनेबाज सडक खण्ड निर्माणमा उनले खेलेको भूमिकालाई भुल्न सकिँदैन। सडक सञ्जालको अभावमा धेरै गाउँहरू विकासको मूल प्रवाहबाट पछि परिरहेका थिए। उनले यो समस्या समाधान गर्न निरन्तर पहल गरे। यसका लागि उनले विभिन्न तहमा समन्वय, दबाब, र जनसहभागिताको नीति अपनाए। 

उनकै पहलमा वडाका अधिकांश बस्तीहरूमा बिजुली विस्तार भएको छ। पोल र तार सरकारबाट उपलब्ध भए पनि ढुवानीका लागि बजेट नहुँदा उनले आफ्नै ट्र्याक्टर प्रयोग गरी छ महिनाको अवधिमा विद्युतीकरण सम्पन्न गराए। 

सहरी स्वास्थ्य इकाई रिममा निर्माण सम्पन्न,सञ्चालनको तयारीमा तल्चौरा स्वास्थ्य इकाई स्थापनामा मुख्य भूमिका सामुदायिक स्वास्थ्य इकाई केन्द्र अम्तोलीमा नयाँ भवन निर्माण शिर्जनशील आधारभूत विद्यालय सुपलेकामा नयाँ भवन निर्माण 

विकास र आत्मनिर्भरता जोडिएका छन् भन्ने बुझेर उनले दुईवटा सहकारी भवन निर्माण गराएका छन्, जसले स्थानीय बासिन्दाहरूलाई आर्थिक क्रियाकलापमा संलग्न गराउने अवसर दिएको छ। उनको नेतृत्वमा अधिकांश टोल-बस्तीमा सडक सुविधा पुगेको छ। 

अध्यक्ष जोशीको नेतृत्व सामाजिक सेवामैत्री छ। २०७४ देखि वडाका स्वयंसेवक, टुहुरा, विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा आर्थिक, भौतिक र नैतिक सहयोग प्रदान गर्दै आएका छन्। वडाका ६० दलित परिवारलाई निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण गरेका छन्। दीर्घ रोगी र आकस्मिक बिरामीहरूलाई आफ्नै पारिश्रमिकबाट आर्थिक सहयोग गर्दै आएका छन्। 

उनको नेतृत्वमा महिला सशक्तीकरणका लागि विभिन्न पहलहरू भएका छन्। पिछडिएका वर्गका लागि अवसर सिर्जना गर्न सहकारी र उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालनमा छन्।
गलैनाथ मन्दिर निर्माणमा उनले खेलेको भूमिका महत्वपूर्ण छ। धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उनले यो परियोजना अघि बढाए। आफ्नै व्यक्तिगत लगानीबाट १ लाख १९ हजार रुपैयाँ खर्च गरेर उनले मन्दिर निर्माणमा योगदान दिए।

धार्मिक स्थलहरूको विकासले पर्यटन प्रवर्द्धन मात्र होइन, स्थानीय पहिचानलाई समेत मजबुत बनाउने उनको विश्वास छ। 

अध्यक्ष जोशीको सेवाभाव केवल राजनीतिक सीमितता भित्र सिमित छैन।सार्वजनिक सेवा गर्दा पारिश्रमिक पर्याप्त नहुँदा उनले आफ्नै श्रीमतीबाट मागेरसमेत सेवा गरेका छन्। 

२०५४–२०५९ सम्म शिक्षण पेशामा संलग्न,२०६१–२०६३ मा प्रौढ शिक्षामा काम,२०६३ मा गरिबी निवारण कार्यक्रम अन्तर्गत सामाजिक परिचालक २०६८ द्वन्द्व व्यवस्थापन सम्बन्धी ‘संकल्प दार्चुला’ संस्थामा संलग्न रहेका थिए 

२०६८ पछि दार्चुलाबाट खसी-बाख्रा धनगढीसम्म बिक्री गर्दै आएको व्यवसाय।

यो सब देख्दा उनले समाज सेवा मात्र होइन, आफ्नो व्यक्तिगत जीवन पनि संघर्ष र परिश्रमको आधारमा अघि बढाएका छन्। 

केशव दत्त जोशी नेतृत्वको एउटा ज्वलन्त उदाहरण हुन्, जसले जनतासँग प्रत्यक्ष संवाद गर्दै काम गर्छन्। उनको समाज सेवा, समर्पण, र नेतृत्व क्षमताले वडालाई मात्र होइन, सिंगो नगरपालिकालाई प्रेरित गर्ने काम गरेको छ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update