
बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीमा संगठन विस्तार अभियान थालेको छ । वडास्तरबाटै पार्टीको संगठनलाई बलियो बनाउन वडा अधिवेशन गर्ने कार्य भइरहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लामा ८४ ओटै वडा वडा समिति गठन गर्ने कार्य भइरहेको अध्यक्ष भट्टले बताए । संगठन विस्तार अभियान सघाउन राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्व महामन्त्री जयन्तबहादुर चन्द गृह जिल्ला बैतडी आएका छन् ।
कैलालीको धनगढीमा आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी भएर नेता चन्द गृह जिल्ला बैतडीमा आएका हुन् । उनले गृह जिल्ला बैतडीमा नेता–कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रम गरिरहेका छन् ।
आगामी वैशाखभित्र जिल्ला अधिवेशन गरिसक्ने राप्रपाको योजना रहेको र सोही योजना अनुसार नेता–कार्यकर्ताहरुसंग भेटघाट गर्न आफू गृह जिल्ला आएको नेता चन्दले बताए । यस्तै राप्रपाले थालेको आन्दोलनका बिषयमा आफ्ना नेता कार्यकर्ता र आम नागरिकलाई जानकारी दिने आफ्नो उद्देश्य रहेको चन्दले बताए ।
राजासहितको हिन्दू राज्य स्थापना हुनुपर्ने, गणतन्त्र र धर्म निरपेक्षता खारेज हुनुपर्ने मागसहित आफूहरु आन्दोलनमा रहेको चन्दले बताए । उनले भने,‘अहिलेको व्यवस्थाले मुलुकलाई अधोगतिमा लगेको छ । सबै अट्ने खालको व्यवस्था हुनुपर्ने हाम्रो माग छ । सोही अनुसार हामीले जिल्ला र केन्द्रमा आन्दोलनका कार्यक्रम तय गरेका छौं ।’
वर्तमान व्यवस्था राज्यले धान्न सक्ने व्यवस्था नभएको नेता चन्दको तर्क छ । विकेन्द्रीकरणसहित स्थानीय सरकारलाई बलियो बनाउने र प्रदेश संरचना खारेज गर्नुपर्ने राप्रपाको माग छ ।
राजा, कांग्रेस, कम्युनिष्ट र अन्य सबै शक्तिहरु अट्ने व्यवस्थाका लागि आफूहरु आन्दोलनमा उत्रेको चन्दले बताए । भेटघाटका क्रममा नागरिकहरु व्यवस्था परिवर्तनको पक्षमा उभिएको आफूले पाएको उनले बताए । उनले भने,‘म अहिले बैतडीका विभिन्न ठाउँमा भेटघाट गरिरहेको छु । अहिलेको व्यवस्थाका विरुद्ध नागरिक आँफै जागरुक भएका छन् । त्यसैले सबै अट्ने खालको व्यवस्था हुनु आवश्यक छ ।’
राप्रपाले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लामा संगठन विस्तार अभियानलाई तीव्रता दिएको राप्रपाका सम्पर्क समाज समन्वय विभागका केन्द्रीय सदस्य केशव चन्दले जानकारी दिए ।
जिल्लाका ८४ ओटै वडामा संगठन विस्तार गर्ने योजना रहेको र पार्टीलाई पहिलेकै अवस्थामा पुर्याउने उनले दाबी गरे ।