Sagun Khabar
कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ – मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ ।

ऊर्जामन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार दिएको हो । बैठकले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

Atrya hospital

सरकारलाई थाहै नदिई भारतबाट नेपाल आयात हुने विद्युतमा महसुल दर बढाएको भन्दै गएको हप्ता ऊर्जा मन्त्रालयले घिसिङलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो । घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने र पदमुक्त गर्ने अधिकार मन्त्रालयसँग नरहेको दाबी गरेका थिए । 

यसअघि पनि ऊर्जा मन्त्रालयले घिसिङलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो । घिसिङले कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र कार्यसम्पादन मूल्याङ्कन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै बुझाएका थिएनन् । 

तेस्रो वर्ष कार्यसम्पादन मूल्याङ्कनमा ५० प्रतिशतभन्दा कम अङ्क ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था सम्झौतामा गरिएको छ । यसअघि सम्झौताअनुसार विवरण नै नबुझाएका कारण भदौभित्र कार्यसम्पादन मूल्याङ्कन हुन नसकेकाले घिसिङलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको थियो ।

मन्त्रालयले स्पष्टीकरण सोधेको चार दिनपछि घिसिङले कार्यसम्पादन विवरण बुझाएका थिए । त्यो विवरणमा आफूले गरेका कामलाई आफैंले मूल्याङ्कन गरी ९८.९९ अंक पाएको दाबी गरेका थिए । घिसिङले समयमा कार्यसम्पादन सम्झौता नबुझाएको भन्दै मन्त्रालयले शून्य अङ्क दिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update