
बैतडी –प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको उपाधि कैलालीले जितेको छ ।
आज सम्पन्न फाइनल भिडन्तमा बैतडीमाथि ३ विकेटको जित निकाल्दै कैलाली च्याम्पियन बनेको हो । गत वर्ष पनि बैतडीलाई हराएर कैलालीले उपाधि जितेको थियो ।
बैतडीले दिएको १७० रनको लक्ष्य कैलालीले ४५.५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । जसमा निश्चल क्षेत्रीले अविजित ७७,आयुव चन्दले ३२ र शेर मल्लले नटआउट १९ रनको योगदान गरे । बलिङमा बैतडीका गजेन्द्र बोहरा र हिक्मत महराले ३÷३ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३७.२ ओभरमा १६९ रनमा समेटियो । बैतडीका लागि सुमित बुडालले ५३,लोकेश चन्दले ४१ रन बनाए । कैलालीका कप्तान नारायण जोशीले ४,शेर मल्लले ३ विकेट झारे ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा फागुन ११ देखि शुरु भएको प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको रहेको थियो ।
यो छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट संघका मुख्य छनौटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताए ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फागुन २५ देखि हुँदैछ ।