
बैतडी –बैतडीकी एक किशोरीलाई उपचारमा आर्थिक अभाव भएको छ । ब्लड क्यान्सरबाट पीडित दोगडाकेदार गाउँपालिका–८ कालागाउँ,रिंगडाकी १७ बर्षीया मनिषा बिष्टको उपचारमा आर्थिक अभाव भएको हो ।
काठमाण्डौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी मनिषाको उपचारमा आर्थिक अभाव भएको उनका बुवा पवनसिंह बिष्टले बताए । भारतमा मजदुरी गरेर घर खर्च चलाईरहेका पवनलाई अहिले छोरीको उपचारमा निकै सकस परेको छ । आर्थिक अभावका कारण मनिषाको उपचारमा समस्या भइरहेको उनका काका धौलसिंह बिष्टले बताए । पछिल्लो समयमा धनगढी बस्दै आएका बिष्ट परिवार छोरीलाई क्यान्सर भएपछि निकै समस्यामा रहेका बताइएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार मनिषाको शरीरभरी क्यान्सर फैलिसकेको छ । उनको उपचारमा ढिलाई हुँदा जटीलता थपिँदै जाने चिकित्सकहरुले बताएका छन् । तर पैसाको अभावमा उपचार अगाडि बढाउन समस्या भएको मनिषाका बुवा पवनसिंह बिष्टले बताए । उनले भने, ‘अस्पतालले उपचारमा खर्च बढी लाग्ने भनिरहेको छ । रोग निको हुन पैसा धेरै लाग्ने भएकाले आफूसँग पैसा छैन् । यदि हजुरहरुले सहयोग गर्यो भने हाम्रो छोरी बच्न सक्छ । बरु भोकै बसौँला तर छोरी बचाइदिनुस् ।’
१७ बर्षकै उमेरमा मनिषालाई ब्लड क्यान्सर भएपछि अहिले घरपरिवार निकै तनावमा रहेका उनका आफन्त नरेन्द्र बिष्टले बताए । मनिषाको प्राण रक्षाका लागि सहयोग गरिदिन उनका परिवारले आग्रह गरेका छन् ।
सहयोगी हातहरूका कारण मनिषाले नयाँ जीवन पाउन सक्ने आशा रहेको हुँदा परिवारले आर्थिक सहयोग मागेको हो । मनिषालाई सहयोग गर्न चाहने महानुभावहरुले उनकी आमा राजमती बिष्टको मोबाइल नम्बर ९८४४३५५०९६ सम्पर्क गरेर तलको खाता नम्बरमा सहयोग रकम जमा गर्न सक्नेछन् ।