
बैतडी –लडेर घाइते भएका बैतडीका एकजना विद्यार्थीको उपचारमा आर्थिक अभाव भएको छ । जिल्लाको पाटन नगरपालिका ५ स्थित त्रिपुरेश्वर माविमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय निरजसिंह ठगुन्नाको उपचारमा आर्थिक अभाव भएको हो ।
गएको बुधबार विद्यालयमा एक्कासी लडेका ठगुन्नाको टाउको र आँखामा चोट रहेको उनका काका बिरसिंह ठगुन्नाले बताए । विद्यालयको पहिलो तलाको बरण्डामा रिंगटा लागेर निरज एक्कासी ढलेर चोट लागेको बताइएको छ ।
घाइते निरजको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको आइसियुमा राखेर उपचार भइरहेको ठगुन्नाले बताए । निरजका बुवा भारतमा रोजगारी गर्दै आएका छन् । छोरा लडेर घाइते भएपछि उनी घर फर्किएका छन् । तर निरजको उपचारमा आर्थिक समस्या बल्झिएको छ । निरजको पारिवारिक अवस्था कमजोर भएकाले सहयोगी महानुभावहरुलाई सहयोगका लागि अपिल गरिएको ठगुन्नाले बताए ।
निरजको उपचारका लागि उनी अध्ययनरत विद्यालय त्रिपुरेश्वर माविका शिक्षक र विद्यार्थीहरुले ३३ हजार ६६८ रुपैयाँ संकलन गरेर सहयोग गरेका छन् । निरजको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले बिरसिंह ठगुन्नाको इसेवा नम्बर ९८४८८९१२४३ मा सहयोग गर्न सक्ने बताइएको छ ।