
बैतडी–फागुन १७ गते राति ९ बजेको समयमा दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २४ बर्षीय सुरेन्द्र बिष्ट छिमेकीको पसलमा खाना खाइरहेका थिए । पछिल्लो समयमा आफ्नै जिप किनेर जिप व्यवसायी बनेका सुरेन्द्र दिनभरीको थकानपछि खाना खाइरहेका थिए ।
खाना खाइरहेका सुरेन्द्रको पेटमा एक्कासी भरुवा बन्दुकको गोली बज्रियो । लेनदेनको बिषयमा केही समयअघि मात्रै विवाद भएका दाजु नाता पर्ने कर्णबहादुर बिष्टले सुरेन्द्रको पेटमा गोली बजारे । गोली लागेका सुरेन्द्र होटेलमै ढले । होटेलमा भएकाहरु सबै एकछिन् रनभुल्ल परे ।
दाजु नाता पर्ने कर्णबहादुरले चलाएको गोलीले सुरेन्द्र बिष्ट कहिले नउठ्ने गरेर ढलिसकेका थिए । सुरेन्द्र ढलेपछि गाउँमा स्यालको नामले परिचित कर्णबहादुर भरुवा बन्दुकसहित फरार भए ।
कालागाउँ घटनाले पुरै गाउँमा त्रास फैलियो । एकातिर सुरेन्द्रको घरपरिवार उजाड भयो भने अर्कोतिर अभियुक्त बन्दुकसहित भागे । उनले भाग्ने बेला केहीलाई यसैगरी मार्छु भनेर धम्क्याएर गएपछि गाउँमा झन् त्रास फैलिएको थियो । यसअघि वन मुद्दामा समेत प्रहरीको घेरा तोडेर कर्ण भागेकाले उनलाई पक्राउ गर्न प्रहरीले सक्तैनन कि भन्ने कतिपयले अड्कल गरिरहेका थिए ।
तर यो घटनामा बैतडी प्रहरीले सफलता हात पारेको छ । घटनाको खबर पाउने बित्तिकै प्रहरीले कर्णबहादुर बिष्टलाई पक्राउ गर्नका लागि हतियार सहितको टोली परिचालन गरेको थियो । घटना सम्वेदनशील भएकाले सादा पोशाक र हतियारसहितका प्रहरी परिचालन गरेर अभियुक्तलाई पक्राउ गर्न सफल भइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
घटना भएकै दिनदेखि प्रहरीले कर्णको खोजी शुरु गरिसकेकको थियो । घटनास्थल वरीपरीका जंगलमा हतियारसहित खटिएको प्रहरीले कर्णलाई फेला पार्न सकेको थिएन् । घटना भएको चारदिनपछि अभियुक्तले प्रयोग गरेको मोबाइलको लोकेशन दार्चुलाको दत्तुमा देखिएपछि बैतडी प्रहरीले सादा पोशाकका प्रहरी उक्त क्षेत्रमा खटाएको थियो ।
सोही लोकेशनका आधारमा दार्चुला प्रहरीको सहयोगमा शुक्रबार दिउँसो नेपाल –भारत सीमा नाका दार्चुलाको दत्तुबाट अभियुक्त बिष्टलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक बडूले बताए । उनले भने,‘हामीले कर्णको खोजीलाई तीव्र बनाएका थियौं । जसरी पनि उनलाई पक्राउ गर्ने हाम्रो उद्देश्य थियो । त्यो उद्देश्यमा हामी सफल भएका थियौं ।’
पक्राउ परेका कर्णमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ । आइतबार जिल्ला अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान गरिने प्रहरी निरीक्षक बडूले बताए ।
अभियुक्त बिष्टले प्रयोग गरेको भरुवा बन्दुक गाउँ नजिकैको खोलामा राखेको बयान दिएकाले सोही अनुसार उक्त बन्दुकको खोजी भइरहेको छ ।