
बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका–८ का ४६ बर्षीय सुरेन्द्र बोहरा आफ्नी छोरीसंगै कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी भएका छन् ।
डिलाशैनी मावि मल्लादेहीमा कक्षा सातबाट नियमित रुपमा पढाई गर्दै आएका सुरेन्द्र आफ्नी छोरीसंगै कक्षा ८ को परीक्षामा सम्मिलित भएका विद्यालयका प्रधानाध्यापक विरेन्द्र रतोकीले बताए ।
सुरेन्द्रकी १४ बर्षीया छोरी डम्मरा बोहरा पनि कक्षा ८ को परीक्षा दिइरहेकी छन् । उनीसंगै डम्मरका बुवा पनि परीक्षामा भएका प्रधानाध्यापक रतोकीले बताए ।
डिलाशैनी माविको केन्द्र रत्न आधारभूत विद्यालय रतनपुरमा तोकिएको छ । अन्य परीक्षार्थीहरुसंगै सुरेन्द्रले पनि परीक्षा दिइरहेका हुन् । पुर्चौंडीमा शुक्रबारदेखि कक्षा ८ को नगरस्तरीय बोर्ड परीक्षा सञ्चालनमा रहेको छ ।
डिलाशैनी माविमै कार्यालय सहयोगीको रुपमा कार्यरत बोहराले शिक्षा ग्रहण गर्न उमेरले नछेक्ने बताए । कक्षा ५ सम्म अध्ययन गरेका बोहराले जसरी पनि कक्षा ८ को परीक्षा उत्तीर्ण गर्ने लक्ष्य लिएका छन् ।
आधारभूत तहसम्मको शिक्षालाई संविधानले नै अनिवार्य गरेकाले आफूले विद्यालयमा भर्ना भएर पढाई थालेको बोहराले बताए । उनले भने, ‘पहिला विभिन्न कारणले पढाई गर्न सकिएन् । अहिले घर नजिकैको विद्यालयमा भर्ना भएर पढाई गरिरहेको छु । जसरी पनि आधारभूत तह उत्तीर्ण गर्ने मेरो लक्ष्य रहेको छ ।’
बोहराको शिक्षा प्रतिको लगावले नयाँ पुस्ताका लागि प्रेरणा दिएको प्रधानाध्यापक रतोकीले बताए । उनले भने,‘सुरेन्द्र बोहराले ४६ बर्षको उमेरमा समेत पढाईमा ध्यान दिनु भएको छ । यो नयाँ पुस्ताका लागि सिकाइ र उत्प्रेरणा हुन्छ ।’