
बैतडी–यही फागुन १७ गते दोगडाकेदार गाउँपालिका–८ कालागाउँका कर्णबहादुर बिष्टले गोली हानेर आफ्नै भाइ नाता पर्ने २४ बर्षीय सुरेन्द्र बिष्टको हत्या गरे । सामान्य लेनदेनको बिषयलाई लिएर उनले भरुवा बन्दुकको प्रयोग गरेर सुरेन्द्रको हत्या गरे ।
कर्णबहादुरले सुरेन्द्रको हत्यामा प्रयोग गरेको बन्दुक अवैध रहेको पाइएपछि बैतडी प्रहरीले अवैध हातहतियार खोज्न थालेको छ । सामान्य विवादमा समेत हतियारको प्रयोग गरेर जघन्य अपराध हुन थालेपछि प्रहरीले अवैध हातहतियारको खोजी गर्न थालेको हो ।
सुरेन्द्रको हत्यापछि कालागाउँबाट प्रहरीले अवैध हतियारसहित एकजनालाई पक्राउ समेत गरेको छ । दोगडाकेदार गाउँपालिका–८ कालागाउँ,चौरथलीका ५१ बर्षीय पाल बिष्टलाई फागुन २१ गते भरुवा बन्दुकसहित पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
उनले बिना इजाजत भरुवा बन्दुक घरमा राखेर शिकार गर्दै आएको पाइएको छ । उनको साथबाट २ थान घोरलको छाला र २ थान रतुवाको छाला समेत बरामद भएकाले उनीमाथि वन मुद्दा र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।
कालागाउँ क्षेत्रमा अवैध हतियारको प्रयोग गरेर हत्याको घटना भएपछि अहिले उक्त क्षेत्रमा अन्यहरुसंग पनि हतियार हुन सक्ने भन्दै प्रहरीले हातहतियार खोजीरहेको प्रहरी निरीक्षक बडूले बताए ।
पक्राउ परेका पाल बिष्ट र कर्णबहादुर बिष्टसंग समेत प्रहरीले हतियारका बिषयमा सूचना संकलन गरिरहेको छ । अहिले पनि कालागाउँ क्षेत्रमा प्रहरी परिचालित गरिएको प्रहरी निरीक्षक बडूले बताए । उनले भने,‘हामीले गाउँमा अवैध हातहतियारको खोजी गरिरहेका छौं । कालागाउँ घटनापछि यस्ता हतियार अन्य ठाउँमा पनि हुन सक्ने भएकाले प्रहरीले सूचना संकलन गरिरहेको छ ।’
सुरेन्द्रको हत्यामा कर्णबहादुर बिष्टले प्रयोग गरेको बन्दुक भने प्रहरीले अझै फेला पार्न सकेको छैन् । कर्णबहादुरले भनेको ठाउँमा खोजी गर्दा बन्दुक फेला नपरेको र कर्णले पनि अलग–अलग ठाउँ बताइरहेकाले समस्या भएको प्रहरी निरीक्षक बडूले बताए ।
जिल्ला प्रहरी कार्यालयले मातहतका सबै युनिटहरुलाई अवैध हातहतियारको खोजी गर्न भनिसकेको छ । इजाजत नभएका र नवीकरण नभएका अवैध बन्दुकहरु गाउँमा हुन सक्ने भएकाले खोजी गर्न सबै युनिटहरुलाई निर्देशन दिइएको प्रहरी निरीक्षक बडूले बताए । उनले भने,‘गाउँमा हुन सक्ने अवैध हतियारको सूचना संकलन र खोजी गर्न भनिसकेका छौं । यस्ता हतियारहरुले बेलाबेलामा अप्रिय घटना हुने भएकाले हामी सजक भएका छौं ।’
बैतडीका गाउँ–गाउँमा शिकार गर्नका लागि मानिसहरुले बन्दुकहरु राखेको र ती बन्दुकहरु सम्बन्धित निकायमा दर्ता नभएका, नवीकरण नभएका हुन सक्ने भएकाले प्रहरीले त्यस्ता हातहतियारहरुको खोजी कार्य गरिरहेको बताएको छ ।
कर्णबहादुरले प्रयोग गरेको बन्दुक समेत अर्कैबाट किनेको र उनीसंग इजाजत समेत नभएको पाइएपछि प्रहरीले अवैध हतियारको खोजीमा सक्रियता देखाएको हो ।