Sagun Khabar
बैतडीका विद्यालयहरुद्वारा होली खेलेर लाखौं संकलन, शिक्षकको तलबमा खर्च गरिने 

बैतडी –बैतडीका विद्यालयहरुले होली खेलेर लाखौं रुपैयाँ संकलन गरेका छन् । निजी श्रोतमा सञ्चालन भइरहेका विद्यालयहरु शिक्षकहरुको तलबको जोहो गर्न होली खेलेका हुन् । स्थानीय संस्कृतिको संरक्षण र विद्यालय सञ्चालनका लागि होली खेलिएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । 

चार दिनसम्म विद्यालयले होली खेलेर ३ लाख १८ हजार ८५० रुपैयाँ संकलन गरेको अध्यक्ष भाटले बताए । होलीबाट संकलित रकम शिक्षकहरुको तलब र शैक्षिक सामग्री खरीदमा खर्च गरिने अध्यक्ष भाटले बताए । 

Atrya hospital

कक्षा १० सम्मको पढाई हुने सिद्धेश्वर माविमा निजी श्रोतका शिक्षकहरु रहेकाले उनीहरुको तलब व्यवस्थापनका लागि हरेक बर्ष होली खेल्ने गरिएको अध्यक्ष भाटले बताए । 

यस्तै पाटन नगरपालिका १ स्थित सिद्धेश्वर मावि मेलचौराले होली खेलेर ३ लाख ३० हजार ६५७ रुपैयाँ संकलन गरेको छ । उक्त रकमले विद्यालय सञ्चालनमा सहजता हुने विद्यालयले जनाएको छ । 

पाटन नगरपालिका–१० को सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी रुपैयाँ संकलन गरेको छ । होलीबाट सङ्कलित रकमले विद्यालयमा शैक्षिक सामग्री किन्ने गरेको प्रधानाध्यापक लोकराज भट्टले बताए । 

यस्तै पाटन नगरपालिका – २ स्थित सिद्धनाथ मावि सिलङ्गाले ७९ हजार २३५ रुपैया संकलन गरेको छ । तीनदिन सम्म होली खेलेर उक्त रकम संकलन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए । 

जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडा लगायतका विद्यालयहरुले यो बर्ष होली खेलका छन् । होलीबाट संकलन भएको रकमले विद्यालय सञ्चालनमा सहजता हुने शिक्षण संस्थाहरुले जनाएका छन् । 

यस्तै जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, दशरथचन्द नगरपालिका–१ स्थित सत्यं शिवं सुन्दरम् समाज, सैंपाल होली कमिटि लगायतका संघ संस्था, क्लब र समूहरुले होली खेलेर रकम संकलन गरेका छन् । 
होलीबाट संकलन गरिएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने सत्यं शिवम् सुन्दरम् समाजका अध्यक्ष भुवन भट्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update