
बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले गर्भवती तथा सुत्केरी आमाहरुलाई उपाध्यक्षको कोसेली वितरण शुरु गरेको छ । यो बर्ष उपाध्यक्षको कोसेलीमा आमाहरुलाई तरकारीको बीउ वितरण गर्ने गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।
गर्भवती तथा सुत्केरी आमाहरुलाई आफ्नै करेसाबारीमा ताजा तरकारी उत्पादनमा सहज होस भनेर कोसेलीमा बीउ वितरण गर्ने गरिएको दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । कोसेलीमा सात प्रकारका तरकारीको बीउ प्याकेट राखिएको उनले बताइन् ।
गर्भवती तथा सुत्केरी आमाहरुले ताजा तरकारी उपभोग गर्न पाउन र आफ्नै बारीमा ताजा तरकारी उत्पादनमा प्रेरणा मिलोस भनेर गत बर्षदेखि तरकारीको बीउ वितरण गर्ने गरिएको उपाध्यक्ष कार्कीले बताइन् ।
कोसेलीमा मूला, काक्रो, बोटे फर्सी, बोडी, घिरौला, भिण्डी लगायतका तरकारीका बीउहरु राखिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषिलो खानेकुराको आवश्यकता पर्ने र ताजा तरकारीमा पोषक तत्व पाइने भएकाले बीउ वितरण गर्ने कार्य भइरहेको नाथले बताए ।
योे बर्ष पालिकाभरीका ३ सय ६० जना गर्भवती तथा सुत्केरी आमाहरुलाई कोसेली वितरण गर्ने लक्ष्य लिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । अहिलेसम्म सित्तड स्वास्थ्यचौकी, न्वाली स्वास्थ्यचौकी र श्रीकोट स्वास्थ्यचौकीबाट कोसेली वितरण गरिएको नाथले बताए ।