
बैतडी –बैतडीमा किरिया खर्चका लागि संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका –४ उज्वलगाउँका गजेन्द्र दमाईलाई किरिया खर्च हस्तान्तरण गरिएको अभियान्ता विरेन्द्र भट्टले बताए ।
दमाईकी श्रीमती कमला दमाईको २८ बर्षको कलिलो उमेरमा निधन भएपछि उनको परिवार विचल्लीमा परेको छ । एक्कासी बिरामी भएकी कमलालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक कमलाको घरमा श्रीमान र एक नाबालक छोरा रहेका छन् ।
गजेन्द्र दमाईको आर्थिक अवस्था कमजोर भएकाले सामाजिक सञ्जालमार्फत सहयोग अभियान सञ्चालन गरिएको र उक्त अभियानबाट संकलन भएको ७६ हजार ९ सय ९१ रुपैयाँ दमाईलाई हस्तान्तरण गरिएको भट्टले बताए ।
बुधबार कमला दमाई १५ औं दिनको पूण्यतिथीको अवसर पारेर सहयोग रकम हस्तान्तरण गरिएको बताइएको छ । केदार आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गजेन्द्र दमाईकी श्रीमतीको निधन भएपछि विद्यालयमै सहयोग रकम हस्तान्तरण गरिएको हो । केदार आविका प्रधानाध्यापक हिराराम ओड, स्थानीय पदमराज तिवारी र हरिदत्त भट्टको उपस्थितीमा मृतकका श्रीमानलाई रकम हस्तातरण गरिएको भट्टले बताए ।
यसैबीच अभियानमार्फत संकलन भएको रकममध्ये गजेन्द्र दमाईले आफ्नी श्रीमतीको सम्झनामा विद्यालयमा १० हजार रुपैयाँ बराबरको अक्षयकोष पनि स्थापना गरेका छन् । उक्त कोषको ब्याजबाट आएको रकमले हरेक बर्ष जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृति प्रदान गरिने विद्यालयले जनाएको छ ।