
दार्चुला –दार्चुलाको अपिहिमाल गाउँपालिकाले यही चैत्र ३ गतेबाट एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । चैत्र २५ गतेसम्म सञ्चालन हुने शिविरमा गाउँपालिकाले प्रदान गर्ने सेवा दिइने गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।
गाउँपालिकाका ६ ओटै वडामै गाउँपालिकाका सेवाहरु दिने उद्देश्यले शिविरको आयोजना गरिन लागेको उनले बताए ।
चैत्र ३ गतेदेखि चैत्र ६ गतेसम्म वडा नम्बर ३ का बस्तीहरुमा शिविर सञ्चालन हुने छ । त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १० गतेसम्म वडा नम्बर ६ मा चैत्र ११ गतेदेखि चैत्र १४ गतेसम्म वडा नम्बर २ मा घुम्ती शिविर सञ्चालन हुने अध्यक्ष बोहराले बताए ।
चैत्र १५ गतेदेखि १९ गतेसम्म वडा नम्बर १ मा र २० गतेदेखि २५ गतेसम्म वडा नम्बर ४ का बस्तीहरुमा शिविरका माध्यमबाट सेवा दिइने गाउँपालिकाले जनाएको छ ।
शिविरका माध्यमबाट गाउँपालिकाबाट प्रवाह हुने कृषि तथा भेटेरिनरी सेवा, ज्येष्ठ नागरिक सेवा, दिवा खाजा कार्यक्रम, पञ्जिकरण शाखाका सेवाहरु, अध्यक्ष ज्येष्ठ नागरिक सेवा, स्वास्थ्य जाँच, आयुर्वेदिक औषधि वितरण तथा चेकजाँच, पूर्वाधार सेवा र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको भुक्तानी लगायतका सेवा टोलहरुबाट दिइने अध्यक्ष बोहराले बताए ।
आफ्नो टोलबस्तीमा घुम्ती शिविर सञ्चालन भएका बेला सेवा लिन गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।