
कैलाली –कैलालीको मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फुलबारीगाउँ स्थित मोहना नदीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको हो प्रहरीले जनाएको छ ।
नुहाउने क्रममा नदीमा डुबेर दुई जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१ फुलबारी गाउँका १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा घाईते भएका छन् । उनीहरु दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
चारै जना शुक्रवार नुहाउन गएकोमा नुहाउने क्रममा डुबेका थिए। डुबेका चार जना मध्ये २ जनालाई सकुशल उद्दार गरिएको र दुई जनालाई घटनास्थलबाट अन्दाजी ३० मिटर दक्षिण नदिमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल फुलबारीबाट संयुक्त रुपमा खटिइ खोजतलास गरिएको थियो ।