
बैतडी –नेपाल शिक्षक संघ बैतडीको २२ औं जिल्ला प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ ।
शिवनाथ गाउँपालिकाको सुल्लेखानमा विभिन्न निर्णय गर्दै जिल्ला प्रतिनिधि सभा सम्पन्न गरिएको नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताए । सभाले विद्यालय शिक्षा ऐन चाँडो जारी गर्न सरकारसंग माग गर्ने निर्णय गरेको छ ।
नेपाल शिक्षक महासंघले थालेको आन्दोलनलाई समर्थन गर्दै शिक्षकहरुका मागलाई सम्बोधन गर्न सभाले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको अध्यक्ष भण्डारीले बताए ।
यस्तै नेपाल शिक्षक संघका उत्कृष्ट पालिका कार्यसमितिहरुलाई सम्मान समेत गरिएको छ । नेपाल शिक्षक संघ मेलौली नगर कार्यसमिति र शिवनाथ गाउँ कार्यसमितिलाई उत्कृष्ट समितिको रुपमा सम्मान गरिएको अध्यक्ष भण्डारीले बताए ।
यस्तै नेपाल शिक्षक संघको प्रतिनिधि सभामा विभिन्न संगठन परित्याग गरेर २५ जना शिक्षक नेपाल शिक्षक संघमा आवद्ध भएका उनले बताए ।
नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको जिल्ला प्रतिनिधि सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउद प्रमुख अतिथी रहेका थिए ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य गोविन्दबहादुर शाह, जिल्ला सभापति चतुरबहादुर चन्द, पूर्व राज्यमन्त्री नरबहादुर चन्द लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।