
बैतडी –बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । मौसममा आएको परिवर्तनसंगै भाइरल ज्वरोका बिरामीहरु बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जिल्ला अस्पताल बैतडीमा उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका अस्पातलका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । जिल्ला अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका उनले बताए ।उनले भने ‘अहिले अस्पतालमा आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका छन् । ज्वरो आउने, घाँटी दुख्ने लगायत लक्षण भएका बिरामी बढी आउने गरेका छन् ।’
जिल्ला अस्पतालमा दैनिक ५० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी पुग्ने गरेका सूचना अधिकारी पन्तले बताए ।
जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ७० जना भन्द बढी भाइरल ज्वरोका बिरामी आउने गरेका केन्द्रका प्रमुख मुकेशकान्त दयालले जानकारी दिए ।
गाउँघरमा आजभोली भाइरल ज्वरोको प्रकोप रहेको सुर्नया गाउँपालिका–३ स्थित वासुलिङ्ग स्वास्थ्यचौकीका प्रमुख दलबहादुर बिष्टले बताए । स्वास्थ्यचौकीमा उपचारका लागि आउने अधिकांश बिरामीहरु भाइरल ज्वरोका आउने गरेको उनले बताए ।
मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको संक्रमण बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । ज्वरोका बिरामीहरुले नजिकै स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्नेमा दयालले जोड दिए । ज्वरोका बिरामीहरुमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए ।
ज्वरोका बिरामीहरुले आफूखुसी मेडिकलबाट औषधी किनेर नखान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । ज्वरो आउने बित्तिकै मेडिकलबाट औषधी किनेर खाने प्रवृति रहेकाले चेकजाँच गराएरमात्रै औषधी प्रयोग गर्नुपर्ने जिल्ला अस्पतालका सूचना अधिकारी पन्तले बताए । जथाभावी औषधीको प्रयोगले अन्य समस्या समेत निम्तिने भएकाले स्वास्थ्य संस्थाहरुमा चेकजाँच गराएर मात्रै औषधी सेवन गर्नुपर्नेमा उनले जोड दिए ।
भाइरल ज्वरो लगायतका प्रकोपकबाट बच्नका लागि शुद्धीकरण गरिएको पानी मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।