
बैतडी–बैतडीका दुईओटा क्याम्पसमा भोलि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त श्रीकोट बहुमुखी क्याम्पस खोचलेक र ग्राम प्रकाश बहुमुखी क्याम्पस शर्मालीमा चुनाव हुने भएको हो ।
सेटीगाउँ बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि चुनाव अनिश्चित भएको छ । यद्यपि छलफल गरेर समस्याको समाधान गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीले बताए ।
श्रीकोट बहुमुखी क्याम्पसमा २ सय ५९ जना विद्यार्थी मतदाता रहेका छन् । भोलि हुने चुनावको सबै तयारी पूरा भइसकेको निर्वाचन संयोजक नरेन्द्रप्रसाद पन्तले बताए ।
श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघ तालमेल गरेर चुनावी मैदानमा छन् भने अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रेको छ ।
अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल अनेरास्ववियुका नवीन कपाडीको नेतृत्वमा चुनावी मैदानमा छ भने अखिल क्रान्तिकारी सुरेन्द्र कार्कीको नेतृत्वमा चुनावी मैदानमा रहेको छ ।
यस्तै ग्राम प्रकाश बहुमुखी क्याम्पसमा पनि भोलि हुने स्ववियु चुनावको सबै तयारी पूरा भएको निर्वाचन अधिकृत महामलसिंह साउँदले बताए । ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियु चुनावी मैदानमा उत्रेका छन् ।
नेविसंघ कविता साउँद र अनेरास्ववियु सरीता साउँदको नेतृत्वमा चुनावी मैदानमा रहेको बताइएको छ । उक्त क्याम्पसमा ९५ जना विद्यार्थी मतदाता रहेका निर्वाचन अधिकृत साउँदले बताए ।
यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसमा विद्यार्थी संगठनहरुबीच सहमति गरेर सर्वसम्मत स्ववियु गठन गरिएको छ । उक्त क्याम्पसमा अनेरास्ववियुकी सपना चन्द सभापतिमा चयन भइसकेकी छन् ।
यस्तै शिक्षा क्याम्पस शाहीलेकमा अनेरास्ववियुको प्यानल नै स्ववियुमा आएको छ । उक्त क्याम्पसको स्ववियु सभापतिमा अकबर चन्द चयन भएका छन् । अन्य विद्यार्थी संगठनको उम्मेदवारी नपरेकाले अनेरास्ववियुको प्यानल नै स्ववियुमा चयन भएको क्याम्पस प्रमुख कैलाशकुमार कनौजियाले बताए ।
यस्तै सिगास शिक्षा क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया नै अघि बढ्न सकेको छैन् । स्ववियु निर्वाचनका बिषयमा विवाद हुँदा त्यहाँ प्रक्रिया अवरुद्ध भएको बताइएको छ ।