
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । गाउँपालिकाको केन्द्र पबितामा सार्ने गाउँ कार्यपालिकाको निर्णय विरुद्ध २०७६ साल कार्तिक ३ गते सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
सर्वोच्च अदालतका न्यायधिश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट खारेज हुने फैसला गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
बिरबहादुर बिष्ट नेतृत्वको कार्यपालिकाले सुर्नया गाउँपालिकाको केन्द्र कठेगौंडाबाट पबितामा सार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पबितामै गाउँपालिकाको भवन निर्माण भएर सेवा प्रदान भइरहेको छ । तत्कालिन समयमा गरेको निर्णय ठीक भएको कुरा समयले पुष्टि गरेको गाउँपालिकाका निवर्तमान अध्यक्ष बिष्टले बताए ।
गाउँपालिकाविरुद्धको रिट खारेज भएपछि अब गाउँपालिकाको नाममा जमीन सार्ने प्रक्रिया शुरु हुने अध्यक्ष कुँवरले बताए । पबितामा गाउँपालिकाको कार्यालय सञ्चालनमा आएपनि जमीन भने कमलेश्वर चन्द्रमणी आधारभूत विद्यालयकै नाममा रहेको छ । अब गाउँपालिकाको नाममा जमीन नामसारी गर्ने प्रक्रिया अघि बढ्ने गाउँपालिका अध्यक्ष कुँवरले बताए ।