Sagun Khabar
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका भट्ट नियुक्त

बैतडी –राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडी घर भएका दिनेशप्रसाद भट्ट नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कार्यकारी प्रमुख नियुक्तिका लागि गठित सिफारिस समितिले भट्ट, सुमनकुमार कर्ण र मन्दिप सुवेदी गरी तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । अन्ततः मन्त्रिपरिषद्ले भट्टलाई नेतृत्वको जिम्मेवारी दिएको हो । 

Atrya hospital

बैतडीका दशरथचन्द नगरपालिका – ५ घर भएका नवनियुक्त प्रमुख भट्ट वातावरण तथा जलवायु परिवर्तनका अनुभवी विज्ञ हुन् । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, थापाथलीलगायत विभिन्न क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरिसकेका छन् । 

त्यसैगरी, उनले विश्व बैंक, एसियन विकास बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन, स्विस विकास सहयोग, फिनिस विकास संस्था र ग्रीन क्लाइमेट फण्ड जस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा सञ्चालित परियोजनाहरूमा परामर्शदाता भएर कार्य गरिसकेका छन् । 

हाल जलवायु परिवर्तनसम्बन्धी पीएचडी अध्ययनरत भट्ट खानेपानी, सरसफाइ तथा वातावरणसम्बन्धी पाँच पुस्तकका लेखक समेत हुन् । 

प्राधिकरणको नेतृत्व सम्हालेसँगै भट्टलाई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, आपत्कालीन उद्धार तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउने चुनौती छ । नयाँ कार्यकारी प्रमुखका रूपमा उनले विपद् व्यवस्थापनलाई दिगो बनाउन नीति, योजना र कार्यान्वयनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

सरकारले सुम्पेको जिम्मेवारी आफूले कुशलतापूर्वक निर्वाह गर्ने नवनियुक्त सिइओ भट्टले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update