
बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा खाद्य डिपो सञ्चालन हुने भएको छ । गाउँपालिकामा खाद्य डिपो सञ्चालनका लागि गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
सोमबार गाउँपालिकाकातर्फ अध्यक्ष अम्मरबहादुर कुँवर र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
गाउँपालिकाबासीहरुलाई खाद्यान्नको सहज उपलब्धता, आपूर्ती तथा बजार मूल्य स्थायीत्वका लागि खाद्य डिपो सञ्चालन गर्ने सम्झौता भएको अध्यक्ष कुँवरले बताए । सम्झौता भएसंगै अब डिपो सञ्चालनका लागि काम अघि बढ्ने उनको भनाइ रहेको छ ।
यस्तै सम्झौतामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि खाद्य संकटग्रस्त क्षेत्रमा सहकार्य गर्ने, स्थानीय उत्पादन र आपूर्ती प्रवद्र्धनका लागि सहकार्य गर्ने कुरा उल्लेख गरिएको छ । स्थानीयस्तरमा उत्पादन भएको खाद्यवस्तु भण्डार, ढुवानी, विक्रि तथा बजार व्यवस्थापनमा सहकार्य गर्ने कुरा सम्झौतामा उल्लेख गरिएको अध्यक्ष कुँवरले बताए ।
यो सम्झौताले सुर्नया गाउँपालिकामा खाद्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहयोग पुग्ने बताइएको छ ।