Sagun Khabar
बैतडीको पञ्चेश्वरमा कांग्रेसको वडा सम्मेलन सम्पन्न 

बैतडी –नेपाली कांग्रेसले बैतडीको पञ्चेश्वरमा वडा सम्मेलन सम्पन्न गरेको छ । आइतबारदेखि शुरु भएको सम्मेलन आज ६ ओटै वडामा सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

जिल्लाका ८४ ओटै वडामा सम्मेलन गर्ने योजना अनुसार पञ्चेश्वरमा वडा सम्मेलन सम्पन्न गरिएको सभापति चन्दले बताए । 

Atrya hospital

वडा सम्मेलनमा क्रियाशील सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यताका लागि फारम वितरण र जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको नेपाली कांग्रेस बैतडीका क्रियाशील सदस्य छानबीन समितिका संयोजक रमेश बोहराले बताए । 

नेपाली कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता पाएकाहरुको नवीकरण गरेर उनीहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको छ भने नयाँ सदस्यहरुलाई पार्टीमा आवद्ध गर्ने कार्य भएको बोहराले बताए । 

पञ्चेश्वरमा ७४ जना जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको छ भने ५५ जना नयाँ क्रियाशील सदस्यहरुलाई फारम वितरण गरिएको छ । 

नेपाली कांग्रेस बैतडीले जिल्लाका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा क्रियाशील सदस्यता वितरण, वडा सम्मेलन र जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिसकेको छ । 

आगामी वैशाखभित्र जिल्लाका १० ओटै पालिकाका ८४ ओटै वडामा सम्मेलन सम्पन्न गर्नुका साथै क्रियाशील सदस्यता वितरण र जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक बोहराले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update