Sagun Khabar
स्ववियु निर्वाचन : बैतडीका तीन क्याम्पसमा नेविसंघ र तीन क्याम्पसमा अनेरास्ववियु विजयी 

बैतडी –त्रिभुवन विश्वविद्यालय अन्र्तगतका बैतडीमा आठमध्ये छ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन सम्पन्न भएको छ ।

सार्वजनिक नतिजाअनुसार यहाँका तीन क्याम्पसमा नेविसंघ र तीनमा अनेरास्ववियुका सभापति विजयी भएका छन् । अखिल क्रान्तिकारीले भने एउटा पनि क्याम्पसमा जित निकाल्न सकेको छैन् । 

नेविसंघले पुर्चौंडी बहुमुखी क्याम्पस, ग्राम प्रकाश बहुमुखी क्याम्पस र सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियुमा जित हात पारेको छ । यस्तै अनेरास्ववियुले श्रीकोट बहुमुखी क्याम्पस खोचलेक, नवप्रभात संयुक्त क्याम्पस कुलाउ र शिक्षा क्याम्पस शाहीलेकमा जित हात पारेको छ । 

Atrya hospital

पुर्चौंडी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी उत्तरा महरा निर्वाचित भएकी छन् । बुधबार सम्पन्न भएको निर्वाचनमा सभापतिसहित अधिकांश पदमा नेविसंघले जित हात पारेको छ । यो क्याम्पसमा नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवार चुनावी मैदानमा रहेको थिए । 

यस्तै शिवनाथ गाउँपालिकास्थित ग्राम प्रकाश बहुमुखी क्याम्पसमा शर्मालीमा नेविसंघकी कविता साउँद सभापतिमा निर्वाचित भएकी छन् । उनी प्यानलसहित निर्वाचित भएकी हुन् । यहाँ नेविसंघ र अनेरास्ववियुका उम्मेदवार चुनावी मैदानमा रहेका थिए । 

यस्तै सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरको सभापतिमा नेविसंघका कृष्णसिंह रावल निर्वाचित भएका छन् । यहाँ नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेका थिए । सचिव र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । अधिकांश सदस्यहरुमा संयुक्त प्यानलका उम्मेदवार विजयी भएका बताइएको छ । 

जिल्लाको नवप्रभात संयुक्त क्याम्पस कुलाउमा सहमतिमा स्ववियुको नेतृत्व चयन गरिएको छ । तीनओटै संगठनहरुबीचको सहमतिमा अनेरास्ववियुकी सपना चन्द निर्विरोध सभापति चयन भएकी क्याम्पस प्रमुख मोतिसिंह मंगोलाले बताए । 

यस्तै श्रीकोट बहुमुखी क्याम्पस खोचलेकमा अनेरास्ववियुका नवीन कपाडी सभापतिमा चयन भएका छन् । यहाँ नेविसंघ र अनेरास्ववियुले चुनावी तालमेल गरेको थियो । 

यसैगरी शिक्षा क्याम्पस शाहीलेकमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध सभापतिमा चयन भएका छन् । यो क्याम्पसमा अन्य संगठनहरु दर्ता नभएकाले अनेरास्ववियुका सबै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका क्याम्पस प्रमुख कैलाशकुमार कनौजियाले जानकारी दिए । 

सिगास गाउँपालिकाको गाँजरीमा रहेको सिगास शिक्षा क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया नै अगाडि बढ्न सकेको छैन् ।स्ववियु निर्वाचनका बिषयमा विवाद हुँदा त्यहाँ प्रक्रिया अवरुद्ध भएको बताइएको छ ।
यस्तै सुर्नयास्थित रौलाकेदार बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन् । 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update