
बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पार्कीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको हो ।
गएको असोज ७ गते गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका शाखा अधिकृत पार्कीको सरुवा भएको मन्त्रालयले जनाएको छ । करीब ५ महिना गाउँपालिकामा काम गरेका पार्कीको सरुवा गरेपनि मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत खटाएको छैन् ।
यस्तै पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलको कार्यालयमा हाजिर नहुँदै गृहमन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवा सूचीमा पौडेललाई पाटनबाट गृहमन्त्रालयमा सरुवा गरिएको उल्लेख छ ।
पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीको सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ ।
पछिल्लो पटक मन्त्रालयले निकालेको सरुवा सूचीमा पाटनमा नगरपालिकामा कसैलाई पनि खटाएको छैन् ।
यो संगै पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भएका छन् । स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत नटिक्दा विकास निर्माणका काम लगायत अन्य प्रशासनिक कामहरु अवरुद्ध हुँदै आएका छन् ।