
बैतडी—पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवस बैतडीमा पनि मनाइएको छ । नेपालमा सशस्त्रद्वन्द्वको अन्त्य गरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको स्मृति दिवस यहाँ पनि मनाइएको हो ।
कांग्रेस बैतडीको जिल्ला कार्यालय गोठलापानीमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाइएको नेपाली कांग्रेस बैतडीका क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिए ।
राजनेताका रुपमा स्थापित गिरिजाप्रसाद कोइरालाको तस्बिरमा माल्र्यापण, श्रद्धाञ्जली अर्पण र उनको योगदानबारे अन्तरक्रियामा चर्चा गरिएको उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पूर्व पार्टी सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्र चन्दलगायत नेपाली कांग्रेसका अन्य नेता,जनप्रतिनिधि,भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपालमा शान्ति स्थापनाका लागि योगदान पुर्याएका कोइरालाको वि.सं २०६६ चैत ७ गते निधन भएको थियो ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि कोइरालाले नेतृत्वदायी भूमिका खेलेका थिए ।