
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुक ‘गम्भीर अवस्थामा’ पुगेको बताउँदै परिवर्तनका लागि तयार रहन सबैलाई आग्रह गरेका छन्।
शुक्रबार उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले क्रान्तिको समय नजिकिएको संकेत गरेका हुन्। उनले भने, ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु। गेट रेडी फर द रेभुलेसन।’
लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए। अदालतबाट निस्कने क्रममा उनले सरकारमाथि कटाक्ष गर्दै भने, ‘सरकार नांगिएको छ, त्यसैले यसको लाज छोप्नका लागि अदालतहरूमा दौडिरहेको छ।’
लामिछानेले आफू हाल संयमित रहेको तर उपयुक्त समयमा खुलस्त रूपमा धारणा राख्ने बताएका छन्। उनले चेतावनी दिँदै भने, ‘मेरो बोल्ने समय एकदमै नजिक छ। अहिले म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्न सक्छ। जब बोल्ने समय आउँछ, धेरैको बोली बन्द हुनेछ।’
साथै, उनले आफ्नो अभिव्यक्ति कुनै आवेग वा उत्तेजनामा आधारित नभएको स्पष्ट पार्दै भने, ‘म कुनै उत्तेजनामा छैन। मुलुक संवेदनशील मोडमा छ, रास्वपालाई नेपाली जनताले आशा र भरोसाको रूपमा हेरेका छन्। त्यसैले म गम्भीर जिम्मेवारीका साथ बोलिरहेको छु।’
लामिछानेको पछिल्लो अभिव्यक्तिले नेपाली राजनीतिमा नयाँ बहसको सिर्जना गरेको छ। अब उनले गर्ने आगामी कदम के हुनेछ भन्ने चासो बढेको छ।