
अछाम –अछाम जिल्ला अदालतले ढकारी गाउँपालिका–८ कि २ किशोरीको हत्या गरेको आरोप लागेका २ जना किशोरलाई सुधार गृह पठाएको छ ।
जिल्लाको ढकारी गाउँपालिका–८ पल्साताकी १४ बर्षीया इशरा खड्का र १५ बर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका उनीहरूलाई बाल सुधार गृह, डोटी पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामले किशोरहरूलाई बाल सुधार गृह पठाएको बताएको छ । प्रहरीले जङ्गलमा दुई किशोरीको ढुङ्गाले प्रहार गरेर हत्या गरेको निष्कर्षसहितको प्रतिवेदन अदालतमा बुझाएको थियो । प्रहरीको प्रतिवेदनका आधारमा अदालतमा कानुनी प्रक्रिया बाँकी रहेको भएपनि किशोरहरूलाई भने डोटी पठाइएको हो ।
किशोरहरू १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो । जिल्ला प्रहरी कार्यालय, अछामले अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने काम गरिरहेको छ । नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बाल सुधार गृहमा पठाउने गरेको छ । उमेर पुगेपछि मात्रै कानुनी प्रक्रियाअनुसार कारागार पठाउने गरिएको छ ।