
बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा आइतबारदेखि गर्भवती आमाहरुका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड घुम्ती शिविर सञ्चालन भएको छ । गर्भावस्थामा हुन सक्ने जटीलताका बारेमा समयमै पत्ता लगाइ मातृ तथा शिशु मृत्यु रोकथामका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर शुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
आज पहिलो दिन वडा नं ८ स्थित भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा १७ जना र वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकीमा १४ जनाले सेवा लिएको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताए ।
आमा र बच्चाको स्वास्थ्य स्थितीका बिषयमा समयमै थाहा पाउनका लागि अल्ट्रासाउण्ड शिविरले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बोहराले बताए । अल्ट्रासाउण्ड शिविरले गाउँघरका गर्भवती आमाहरुलाई सहज भएको उनले बताए ।
सोमबार शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन हुनेछ । यस्तै चैत १२ गते शंकरपुर स्वास्थ्यचौकी, चैत १३ गते भौनेली स्वास्थ्यचौकी, चैत १७ गते वासुलिङ्ग स्वास्थ्यचौकी, चैत १८ गते वासुदेव आधारभूत स्वास्थ्य केन्द्र र चैत १९ गते हटैराज स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने बताइएको छ ।
शिविरमा आएर सेवा लिन सबै गर्भवती आमाहरुलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । गर्भवती आमाहरुलाई नजिकैको स्वास्थ्य संस्थाहरुबाट सेवा प्राप्त होस भनेर ग्रामीण अल्ट्रासाउण्ड शिविरको आयोजना गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
सुर्नया गाउँपालिकाले विगतदेखि नै पालिकाका प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्दै आएको छ । गत बर्ष झण्डै तीन सय गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको थियो । अल्ट्रासाउण्ड गर्दा जटीलता देखिएका आमाहरुलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरेकाले आमा र बच्चा दुवैलाई फाइदा पुगेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
शिविरमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरु गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्ने गरेका छन् । गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्दा उनीहरुको पेटभित्रको बच्चाको अवस्था थाहा हुने भएकाले यो निकै महत्वपूर्ण रहेको शिविरमा सेवा दिँदै आएकी अनमी शान्ति बडालले बताइन् ।